कला

नेपाली कविताको प्रतिनिधि अनुहार

ज्ञानु अधिकारी

‘कालजयी नेपाली कविता’ शीर्षकको कृति सामूहिक कवितासङ्ग्रहका रूपमा प्रकाशित भएको छ। कवि कृसु क्षेत्रीको सम्पादनमा भर्खरै नेपाली साहित्यको बजारमा आइपुगेको प्रस्तुत कृति नेपाली कवितासाहित्यका लागि असाध्यै नौलो र अहिलेसम्म नगरिएको काम भने होइन। यसअघि पनि कविताका यस्ता सामूहिक सङ्कलनहरू प्रशस्त निस्किएका छन् र यस दृष्टिले यो कृति पनि परम्पराको निरन्तरताकै रूपमा देखिन्छ। तर यसअघिका अन्य सामूहिक कविता कृतिका तुलनामा भने यो कृति केही पृथक् र खास छ। हुन त कृतिको शीर्षक नै यस्तो राखिएको छ, जसले आम पाठकहरूमा मात्र नभई स्वयम् स्रष्टाहरूका मनमा समेत अनेकौँ प्रश्न, जिज्ञासा र सन्देहहरू उत्पन्न गर्छन्। पुस्तक पढ्नुअघि मनमा आएका यस्ता जिज्ञासा र प्रश्नहरूको जवाफ खोज्न पनि पाठकले पुस्तकभित्र रहेको सम्पादकीय खण्ड र चयनित कविताहरूलाई अनिवार्यरूपमा पढ्नैपर्ने हुन्छ।  

सुवानन्ददासदेखि कृसु क्षेत्रीसम्मका एक सय एक जना कविहरूको एकएकओटा प्रतिनिधि कविता चयन गरेर सङ्ग्रह गरिएको यस कृतिका पाना पल्टाउँदै गर्दा हरेक पाठकको मनमा लाग्न सक्छ– के यति नै हो त नेपाली साहित्यमा कालजयी कविता ? यस कृतिमा समावेश भएका कविताबाहेक अन्य कविका कविता कालजयी छैनन् ? अझ भनौं यस कृतिमा समावेश भएका कविका पनि यही एउटा कविता मात्र कालजयी हो ? कालजयी मान्ने आधार केके हुन् ? के कसैले कालजयी भनिदिँदैमा कसैको कविता कालजयी हुन्छ ? जस्ता अनेकौं प्रश्नहरू पाठकको मनमा आउँछ। यसरी प्रश्न उठ्नु, पाठकहरूमा उत्सुकता जाग्नु स्वाभाविक पनि हो र कृतिको राम्रो पक्ष पनि हो, किनभने जहाँ प्रश्न उब्जन्छ, त्यहींंबाट उत्तरको खोजी सुरु हुन्छ।

प्रस्तुत कृतिमा दुई प्रमुख खण्ड छन्। पहिलो सम्पादकीय खण्ड रहेको छ भने दोस्रो खण्डमा समग्र नेपाली प्रतिनिधि कालजयी कविताहरू समावेश गरिएका छन्। नेपाली साहित्य र खासगरी कविता विधामा रुचि राख्ने पाठकका लागि यी दुवै खण्ड उत्तिकै महत्वपूर्ण छन्। सतचालीस पृष्ठ लामो सम्पादकीय खण्डमा नेपाली कविताको विभिन्न कालखण्डको प्रवृत्ति, विशेषता र ती कालखण्डका प्रतिनिधि कविहरूको सङ्क्षिप्त चर्चा गरिएको छ। साथै यस खण्डमा कालजयी नेपाली कविता र यस कृतिमा समावेश कवितालाई ‘कालजयी’ नाम दिनुको सान्दर्भिकता र कारणबारे प्रकाश पारिएको छ। यसै सन्दर्भमा युगीन स्वर, सूक्ष्म सामाजिक चेतना, विशिष्ट शैली, शिल्प र प्रवृत्ति, अर्वाचीन विषयवस्तुको प्रस्तुति, विशेष घटनाको अप्रतिम प्रस्तुति, इतिहासको भाष्यसँग साक्षात्कार, सर्वग्राह्यता, समष्टिगत वैचारिक आधार, सार्वभौमिक चेतना, परिपक्वता–समग्रताको खोज आदिलाई कालजयी कवितामा पाइने विशेषताका रूपमा देखाई यस्ता विशेषता भएका कवितालाई कालजयी कविताका रूपमा मानेर चयन गरिएको कुरा यहाँ प्रस्टसँग उल्लेख गरिएको छ।

कुनै कविता कसरी कालजयी हुन्छ ? भन्ने सन्दर्भमा सम्पादकले प्रशस्त अध्ययन गरी तर्कहरू दिएका छन्। यसरी सामूहिक सङ्कलनका रूपमा कृति निकाल्नु र त्यो पनि ‘कालजयी’ नाम दिएर निकाल्नु चुनौतीपूर्ण काम हो र यो काम नेपाली कविता विधामा आवश्यक पनि थियो। किनभने कि त नेपाली साहित्यमा कालजयी कविता लेखिएकै छैनन् भनेर स्पष्टसँग भन्नुपर्‍यो, होइन लेखिएका छन् भन्ने हो भने देखाउन सक्नुपर्‍यो। र, यही देखाउने काम सम्पादक कृसु क्षेत्रीले यस कृतिमा गरेका छन्। कालजयी कविताका बारेमा सम्पादकीयमा भनिएको छ– ‘एउटा युगमाथि विजय प्राप्त गर्ने कविता, जसले मरणशील एक कविलाई पनि अमर र अविनाशी बनाउँछ, कुनै कालखण्डमा पनि उसको आदर, सम्मान र प्रतिष्ठामा आँच पुर्‍याउँदैन र जुन कविताले समाज, सभ्यता, संस्कृति र सम्मानको पहिचान दिन्छ एवम् यी सबैलाई सम्झन, बुझ्न र परिचित हुन सहयोगी हुन्छ, ती कालजयी कविता हुन्।’ यसरी हेर्दा प्रस्तुत कृति नेपाली कवितामाथि विस्तृत अध्ययन र विवेचनापश्चात् तयार भएको देखिन्छ।प्रस्तुत कृतिको प्रमुख विशेषता र महत्वपूर्ण प्राप्ति के हो भने यसले करिब साढे दुई सय वर्षको अवधिमा लेखिएका समग्र नेपाली कविताको विकासयात्रालाई एउटै कृतिमा अटाएको छ। यो एउटा यस्तो कृति हो, जसमा सुवानन्ददासदेखि आज (पचासकै दशकमा स्थापित) सम्मका एकसय एक कविहरू समाविष्ट छन् र तिनलाई एउटै कृतिमा पढ्न पाइन्छ। कविताका सचेत पाठकहरूले सुवानन्ददासदेखि आजसम्म आइपुग्दा कवितामा केकस्ता वैचारिक र शैल्पिक परिष्कार हुँदै आएका रहेछन्, नेपाली कविता यहाँसम्म आइपुग्दा कविताले मानवीय संवेदनासँगै केकस्ता प्रवृत्ति, चेतना, विश्वदृष्टि, विचार, कलात्मकता आदिलाई समावेश गर्दै र हुर्काउँदै अगाडि बढेछ भन्ने कुरालाई अध्ययन विश्लेषण गर्ने आधार सामग्रीका रूपमा यस कृतिलाई बनाउन सकिन्छ। यति मात्र नभई करिब साढे दुई शताब्दीको नेपाली कवितायात्रा, कविताप्रवृत्ति र लेखनशैलीलाई एउटै पुस्तकभित्र पढेर विश्लेषण गर्ने सुविधा यस कृतिले प्रदान गर्ने भएकाले प्रस्तुत कृति पठनीय र सङग्रहणीय देखिन्छ।

वास्तवमा ‘कालजयी कवितामा मानव, प्रकृति र समाजको चिरन्तन चिन्तन अभिव्यक्त भएको पाइन्छ। कालजयी कविता प्रेम, यौन, युद्ध, हिंसा, सङ्घर्ष, द्वन्द्व, बेथिति, विसङ्गति, कविको आत्मसंवेदना वा अन्य विविध विषयका हुन सक्छन्, तर त्यसले आम पाठकका बीच लामो छाप, गहिरो प्रभाव र अपनत्वको भाव छाड्ने हुनाले ती शाश्वत हुन्छन्’ भन्ने कुरालाई यस सङ्ग्रहका कविताले पुष्टि गरेका छन्। प्राथमिककालीन वीरधाराबाट आरम्भ भएको नेपाली कविताको यात्रा कसरी भक्तिधारा (कृष्ण, राम, निर्गुण), शृङ्गार धारा, शास्त्रीय÷परिष्कारवादी धारा, स्वच्छन्दतावादी धारा, प्रयोगवादी धारा, समसामयिक धारासम्म आइपुग्यो, त्यस अवधिमा कस्ताकस्ता कविता लेखिए र नेपाली कवितालाई विभिन्न कालखण्डमा वर्गीकरण गर्न र धारा–उपधारामा छुट्याउन ती कविताहरूको केकस्तो भूमिका रह्यो जस्ता सबैप्रकारका जिज्ञासाहरूको समाधान यस कृतिको अध्ययनबाट पहिल्याउन सकिने भएकाले पनि प्रस्तुत कृति नेपाली कविता विधाको महत्वपूर्ण कृति हो।

प्रस्तुत कृतिमा नेपाली कविताको प्रत्येक चरणका विभिन्न धारा–उपधाराका प्रतिनिधि कविहरूको प्रतिनिधि कविता चयन गरिने क्रममा महिला कविहरूको उपस्थिति भने आधुनिक कालको प्रयोगवादी धाराबाट देखिन्छ। यसबाट के देखिन्छ भने नेपाली कविताको मूलधारमा महिला कविहरूको प्रतिस्पर्धा धेरै पछि मात्र अर्थात् २०२० को दशकबाट मात्र भएको देखिए पनि यहाँ एघार जना नारी स्रष्टाका प्रतिनिधि कविताहरू सङ्गृहीत छन्।  

यसैगरी यहाँ कविका रूपमा ज्यादा चर्चामा नआएका तर मौलिक पहिचानसहित कविताविधामा योगदान दिएका कविहरूलाई पनि समावेश गरिएको छ र धेरैजसो कविता आधुनिककालीन समयकै कविहरूको चयन गरिएको छ। यसै सन्दर्भमा सम्पादकीयमा भनिएको छ– साधारण कविताले लोकप्रियता प्राप्त गर्न सक्छन् तर कालजयी कविता सर्वसाधारणका लागि कम लोकप्रिय पनि हुन सक्छन्। कालजयी कविता बजारको सफलतामा भन्दा बौद्धिक पाठकहरूका मनमा लामो समयसम्म बस्दछ। यसैले यहाँ भवानी भिक्षु, अलि मियाँदेखि मवीवि शाह, धर्मराज थापाका कविताहरू पनि समावेश छन्।  

प्रारम्भदेखि पचासको दशकमा स्थापित भइसकेका र हालसम्म लेख्दैगरेका विभिन्न समय, प्रवृत्ति, विचारधाराका र कविता विधामा पहिचान बनाएका एकसय एकजना कविहरूको चयन गर्नु र उनीहरूका लोकप्रिय कविताहरूमध्ये कालजयी भनेर एउटालाई मात्र चयन गर्नु अत्यन्त जटिल र दुरुह काम हो।  

समय, स्रोत र कृतिको आकारको सीमाका कारणले यहाँ सबै कविहरूलाई समावेश गर्न सम्भव नहुने हुनाले जतिसुकै अध्ययन, लगन र परिश्रमका साथ काम गरे पनि यस्ता कामहरू विवादरहित हुने सम्भावना कम नै हुन्छन्। समग्रमा नेपाली कविता विधाको ऐतिहासिक रूपरेखासहित सबै कालक्रमका प्रतिनिधिमूलक कविहरूद्वारा लेखिएका शक्तिशाली कविताहरू एउटै कृतिभित्र पढ्न पाउनु नेपाली साहित्यका पाठक तथा अनुसन्धानकर्ताहरूका लागि सुखद कुरा हो। यस महत्वपूर्ण कार्य गरेर सम्पादक कृसु क्षेत्रीले नेपाली साहित्यलाई ठूलो गुन लगाएका छन्।

प्रकाशित: ९ पुस २०७९ ०१:५६ शनिबार

अक्षर