सरुभक्त नेपाली भाषा साहित्यका कालजयी स्रष्टा हुन्। उनका उपन्यास, नाटक, कविता–काव्यलगायत विधाका थुप्रै कृति प्रकाशित छन्। उनी सुन्दर नगरी पोखरामा जन्मे–हुर्के अनि जिन्दगीलाई एकोहोरो सिर्जनामा घोटिरहे। प्रयोगवादी लेखन र विसङ्गतिवादी चिन्तन सरुभक्तका लेखकीय प्रमुख विशेषता हुन्। छ दशकको उत्तरार्ध वयमा अहिले पनि उनको लेखकीय तन्नेरी ऊर्जा उस्तै छ। कालजयी उपन्यास ‘पागल बस्ती’, हिमाली उपन्यास ‘चुली’, ‘युद्ध ः उही ग्यास च्याम्बरभित्र’, ‘इतिहासभित्रको इतिहास’, ‘इथर’, ‘गाउँघरका नाटक’, ‘निमावीय’लगायतका थुप्रै विसङ्गत चेतना बोकेका प्रयोगवादी नाटक, ‘बोक्सीको आह्वान र घोषणापत्र’, ‘कवि, प्रेमी र पागल’, ‘कुरूप मसिहा’, ‘कापुरुष’, ‘ज्यानमाया’, ‘प्रयोगशालाभित्र’, ‘झुमा’लगायतका गम्भीर दर्शन बोकेका कविता–काव्य उनका प्रतिनिधि कृति हुन्।
प्रस्तुत छ दिलीप ढकालले साहित्य–साधक सरुभक्तसँग गरेको स्रष्टा संवाद:
अहिले तपाईंको लेखकीय व्यस्तता केमा छ ?
लेखकीय व्यस्तता दुई प्रकारका छन्– सिर्जनात्मक व्यस्तता र कार्यक्रमसम्बन्धी व्यस्तता। सिर्जनातर्फ म संस्मरण लेखन गर्दै छु, जसलाई मेरो पूर्वप्रकाशित संस्मरण कृति ‘बाङ्गाटिङ्गा धर्साहरू’को अर्को भाग भन्न सकिन्छ। पोखरामा धेरै साहित्यिक कार्यक्रम हुन्छन्। तिनमा व्यस्त भइरहन्छु।
नेपाली साहित्यमा सार्वकालिक पहिचान बनाउन सफल पुस्तकहरूको प्रतिनिधि नाम लिनुपर्दा यहाँको नजरमा कुनकुन पर्छन् ?
कृतिलाई सार्वकालिक पहिचान दिनु मनोगत कुरा हो। कसैका लागि सार्वकालिक लागेको साहित्यिक कृति अरूलाई सार्वकालिक नलाग्न सक्छ। मलाई लाग्छ, भावनामा प्रवाहित नभई भन्दा नेपाली साहित्यमा वाल्मीकिकृत रामयण र व्यासकृत महाभारतजस्ता दीर्घकालीन कृति रचना हुन बाँकी नै छ।
‘पागल बस्ती’ जस्तो सशक्त उपन्यासको लेखन प्रारूप कसरी बन्यो ?
२०३८ सालमा स्नातक तहमा अध्ययन गर्दा म एक कलाकार भाइसित पहिलोपल्ट पोखरानिकटको घान्द्रुक गाउँको भ्रमणमा गएको थिएँ। फर्कंदा नौडाँडाको बासमा मैले एक मगन्ते गरिब किशोर अवहेलित भएको मार्मिक दृश्य देखें, जसले मलाई ‘पागल बस्ती’ उपन्यास सोच्न प्रेरित ग¥यो। यही प्रथम प्रेरणाले उपन्यासको प्रारूप तयार पार्यो।
‘पागलबस्ती’ भित्रको तपाईंलाई मनपर्ने कथ्यसन्दर्भ बताइदिनुहोस् न।
‘पागल बस्ती’भित्र धेरै कथ्यसन्दर्भ छन्, जुन आआफ्ना स्थानमा महत्वपूर्ण र प्रिय लाग्छन्। तर मलाई मगन्ते किशोरको प्रतिरूप भउते चोर र आदिगुरुका दार्शनिक कथ्यसन्दर्भहरू बढी प्रिय लाग्छन्।
तपाईंका कृतिहरूमा मानवीय अहम्लाई नै लेखकीय मूल मर्म बनाइएको पाइन्छ। मानवीय अहम्लाई कसरी परिभाषित गर्नुहुन्छ ?
मानवीय अहम् भनेको मानिसका चेतना, भावना र नैसर्गिक प्रवृत्तिको समष्टिगत स्वरूप हो, जसले मानवीय जीवन र इतिहासको रचना गर्ने गर्छ। कतिका अहम् चेतनप्रधान अनि कतिका अहम् भावनाप्रधान हुन सक्छन्। यो व्यक्तिसापेक्ष कुरा हो।
नेपाल हिमालयको देश। हिमाललाई विषयसन्दर्भ बनाएर अत्यन्त कम साहित्य लेखिएको पाइन्छ। यो अभावलाई तपाईंको ‘चुली’ उपन्यासले परिपूर्ति गर्छ त ?
अवश्य नेपाल विश्वको सर्वोच्च हिमालचुलीसहित महान् हिमालय शृङ्खलाका असङ्ख्य ज्ञात–अज्ञात चुलीहरूको देश हो। हामी हिमालहरूले धनी छौं तर हिमाली साहित्यले अत्यन्त गरिब छौं। यो अभाव हटाउने प्रयत्नमा मेरो लघुकायाको उपन्यास चुलीले सानो भूमिका खेलेको होला। अरू महत्वपूर्ण प्रयासहरू आवश्यक छन्।
अहिले नयाँ नयाँ प्रवृत्तिका साथ लेखकहरू उदाइरहेका छन्। पाठकले पनि लेखन तथा विषयगत नयाँपन खोजेको पाइन्छ। यस सन्दर्भमा तपाईंले उदाउँदा लेखकहरूलाई के सन्देश दिनुहुन्छ ?
समकालीन नेपाली साहित्यमा उदीयमान लेखकहरूलाई सन्देश दिनुपर्छजस्तो लाग्दैन। नयाँ पुस्ताका लेखकहरू जागरुक छन्। मलाई लेखन भनेको म्याराथुन दौडजस्तो लाग्छ। त्यसैले हतारहतार एकदुई सय मिटर दगुरेर लक्ष्यमा पुगेको भ्रममा लेखकहरू बाँच्नुहुन्न।
प्रकाशित: ९ पुस २०७९ ०१:४४ शनिबार