कला

नेपालपछि ‘हिजो आजका कुरा’ अमेरिका र अष्ट्रेलीयामा

निर्देशक साकार पन्त दुई साता अघि फिल्म ‘हिजो आजका कुरा’ प्रदर्शन गर्नका लागि अष्ट्रेलिया उडे। बरिष्ट अभिनेता पिता सन्तोष पन्तको कथा र निर्माणमा बनेको ‘हिजो आजका कुरा’ गत असोज २८ गते नेपालभरका हलमा प्रदर्शन भएको थियो। दर्शकबाट सुखद प्रतिक्रिया पाएको फिल्मको बिदेशमा माग बढेकाले निर्देशक स्वयम् अष्ट्रेलिया पुगेका हुन्।

आफ्नो डेब्यु निर्देशन तथा अभिनयको फिल्म भएकाले दर्शकको माग अनुसार आफू अष्ट्रेलिया पुगेको साकारले बताएका छन्। ‘अष्ट्रेलियाका विभिन्न शहरमा फिल्म शो भइरहेको छ,’ उनले भने,‘फिल्म निकै मन पराइरहनु भएको छ। त्यसैले पूर्वनिर्धारित भन्दा बढी शो थपीएका छन्। अझै केही साता शो निरन्तर रहन्छ।’ 

उनले २२ डिसेम्बरमा क्वीनल्याण्डस्थित गार्डेन सिटी टुवाम्बामा सम्पन्न शोमा दर्शकको खचाखच उपस्थिति रहेको बताए। यसअघि डर्विन क्याथरिन र ब्रिसवेनमा सम्पन्न शोमा पनि दर्शकले फिल्म निकै मन पराएका थिए। फिल्म २९ डिसेम्बरमा क्यानबेरा, ५ जनवरीमा सिड्नी र ८ जनवरीमा गोल्ड कोयस्ट अनि २२ जनवरीमा एडिलेडमा प्रदर्शन हुदैछ।

‘हिजो आजका कुरा’ को बिदेश प्रदर्शन यात्रा अमेरिकाबाट सुरु भएको थियो। गत १३ नोभेम्बरमा अमेरिकाको फेयरफ्याक्स सिटी स्थित सिनेमा आर्टस् थिएटरमा प्रदर्शन गरिएको फिल्म त्यसपछि १८ देखि २५ नोभेम्बरसम्म डल्लासस्थित सिनेपोलिस, इयुलेस एण्ड फन मुभी ग्रिलमा र २० नोभेम्बरमा ओक्लाहाउमाको रोडियो सिनेमामा प्रदर्शन गरियो। अमेरिकामा पनि दर्शकको माग बढेकाले २३ डिसेम्बरबाट टेक्ससमा दुई सातासम्म लगातार फिल्म प्रदर्शन सुरु भएको उनले जानकारी दिए। अष्ट्रेलियामा फ्युजन मिडिया प्रोडक्शनले फिल्म प्रदर्शनमा साथ दिइरहेको छ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा बरिष्ट अभिनेता पन्तको हो भने पटकथा सन्दिप किस्नाले लेखेका हुन्। रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त,सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन्।

फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव,रिमा बिश्वकर्मा,स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ,बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसीलगायतले अभिनय गरेका छन्।  

प्रकाशित: ८ पुस २०७९ १४:२२ शुक्रबार

'हिजो आजका कुरा