कला

‘जे बिकेको छ त्यो देखाउनु ‘आतकं’ हो ’

नागरिक-नेपाली फिल्म र टेलिभिजनमा  महिला, दलित, जनजाति मधेसी लगायतको चरित्र चित्रणमा अन्याय भएको विभिन्न वक्ताले बताएका छन्। फिल्म तथा टेलिभिजनमा देखाँइदै आएका  ‘स्टिरियोटाइप’  चरित्रबारे आइतबार राजधानीमा आयोजित अन्तरक्रियामा कुनै एक चरित्र ‘जनरलाइज’ गरेर प्रस्तुत गर्दा सम्पूर्ण समुदायलाई चिढाउने काम भइरहेको उनीहरूको बुझाइ छ ।
निर्देशक तथा समीक्षक नवीन सुब्बाले कसैको चरित्र चित्रण गर्दा उनीहरूका पीडा, समस्या र आकांक्षा उजागर गर्नुभन्दा उनीहरूलाई गिज्याउने काम बढी भएको सुनाए । ‘समाजले रुचायो भन्दैमा कसैलाई अवहेलना गरेर चर्चा कमाउनु राम्रो हैन,’ उनले भने, ‘अभिनेताले समाजको पछाडि घस्रने हैन अगाडि लैजाने काम गर्नुपर्छ ।’
लेखक आहुतीले सदियौंदेखि राज्यले थोपरेको चिन्तन समाजको तल्लो तहसम्म रहेको भन्दै त्यसैको प्रस्फुटन टेलिभिजन तथा फिल्ममा देखिएको बताए । सजिलोको लागि समाजले जे रुचाउँछ, त्यही पस्किने काम भइरहेको भन्दै यो दुःखद रहेको उनले सुनाए । ‘जे बिकेको छ, त्यही देखाउनु एक प्रकारको आतंक हो,’ उनले भने, ‘स्रष्टाले सचेत भएर अगाडि बढ्नु पर्छ ।’ सचेत भएर गरिने कामले कसैलाई नहोच्याउने उनको तर्क छ ।  
नेपाल टेलिभिजन मेट्रोकी प्रमुख दीपा गौतमले फिल्म र टेलिभिजन कार्यक्रम समाजको रिफ्लेक्सन भएको बताइन् । उनले अहिले टेलिभिजन क्षेत्रमा  चर्चित ५ कार्यक्रममध्ये ३ वटा कमेडी पर्ने जनाइन् । सृजनशील व्यक्तिको कमी हुँदा एकै खाले कार्यक्रम दोहोरिइरहेको उनको बुझाइ छ ।   
साहित्यकार धिरेन्द्र प्रेमर्षीले मधेशीको अभियन गरेर देखाइने कार्यक्रममा मधेशीको लवाई देखिने तर उनीहरुको आत्मा नवोलिने गरेको सुनाए । ठेला ठेल्दै गरेको, पान बेच्दै गरेको र गम्छा लगाएकोरुपमा मात्र  मधेशीको चरित्र चित्रण गर्नु न्याय संगत नभएको उनको गुनासो छ । ‘मुख बङगाएर, पान चपाएर गरिने प्रहसनले मधेशीको आत्मा बोल्दैन,’ उनले भने, ‘जब सम्म त्यो समाजको गहिराइमा पुगेर उनीहरुको कथा बोलिन्न तब सम्म त्यो चरित्र सार्थक रहन्न।’
नेपाल पोलीसी सेन्टरद्धारा आयोजित कार्यक्रमका अन्य सहभागीहरुले  समुदायलाई होच्याउने, गिज्याउने र खसाउने किसिमले गरिएका कार्यक्रमको सवैले भण्डाभोर गर्नु पर्ने बताए।

 

प्रकाशित: २० असार २०७३ ०२:४२ सोमबार

जे बिकेको त्यो देखाउनु आतकं हो