कला

कथाकार ममता मृदुलको ‘सेलाएको सयपत्री’ छामी हेर्दा

पुस्तक

टुकादेवी आचार्य

‘नमस्कार म्याम,सन्चै हुनुहुन्छ?’ मैले यताबाट मेसेज पठाएँ। करीब ९ महिनाअघिको कुरा हो। सन्दर्भ ‘सौन्दर्यमा आमा’ लघुकथासंग्रहका लागि लघुकथा पठाउने विषयमा संवाद थियो। उताबाट जवाफ आयो,‘ठिक छु,नमस्कार।’

लघुकथा पठाउन ढिलो भएको प्रसंग उठाएँ। यसैमा पठाउनुस् न भन्ने उत्तर आयो। अनि मैले इन्बक्समै आमा शीर्षकको लघुकथा पठाएँ।

विस्तारै हाम्रो सामीप्य बढ्दै गयो। पहिलो संवादको एक सातामा लघुकथाकार ममता मृदुलसँग मेरो लामो कुराकानी भयो राति ९ देखि ११ बजेसम्म। घरपरिवारका आफ्ना अनुभव साटासाट भए। त्यो दिनदेखि उहाँले सम्बोधन नै फेरिदिनुभयो, म बैनी र उहाँ दिदी।

म एउटा लघुकथासंग्रह प्रकाशन गर्ने तयारीमा थिएँ। दिदीलाई जानकारी गराएँ। दिदी पटकपटक भन्नुहुन्थ्यो, ‘बैनीले बोलाए म पनि आउँछु है।’

उहाँले मेरो कामबारे सोधखोज गर्न थाल्नुभयो। अन्ततः मेरो कृतिको काम सकियो र २०७८ भदौ १० गते विमोचन गर्ने पक्का भयो। मैले उहाँलाई निमन्त्रणा गरें। दिदी विराटनगरदेखि अघिल्लो दिन नै आउनुभयो। उहाँले मलाई ‘सेलाएको सयपत्री’ कोसेली ल्याइदिनुभएको रहेछ।

व्यस्तताले उक्त कृति पढेको थिइनँ। आज बिहान एक बसाइमै यो कृति पढिसकें। जम्मा ३६ लघुकथाको सम्पादन गरिएको यस कृतिमा छोटा र मिठा कथा पढ्न सकिन्छ।

‘गल्ती’बाट सुरु भएको कथा ‘मूल्य’ मा टुंग्एिको छ। यसमा सम्पादित अधिकांश कथा सामाजिक पेरिफेरिका विषयवस्तुमा उनिएका छन्।

‘गल्ती’मा कथाकार पारिवारिक सदस्य बिच घट्न सक्ने घटनाको चर्चा गर्न पुग्छिन्। लोग्नेसँग सानो कुरामा रिसाएर माइत जाँदा माइत समेत रिसाउँदा घट्न पुगेको असोचनीय घटनालाई उतारिएको छ।

‘म मरेकी भए’ लघुकथामा गर्भमै सन्तान हुँदा छोडेर गएको लोग्नेबाट पीडित महिलाको कष्टकर जीवनको वर्णन पाइन्छ। छोराको खुसीका लागि जीवनभर दुःख गरेकी आमाको  प्रतिनिधिमुलक कथा हो।

‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी’ भन्ने चरितार्थ ‘झोला’ कथामा भेटिन्छ। बुढेसकालमा बाबुआमालाई महिने पालो लगाएर पाल्ने छोराछोरीको चित्र यस कथामा भेटिन्छ।

‘प्रभा’ कथा नारीवादी कथा हो। यस कथामा कथाकार महिलाहरू पुरुषको देखावटी प्रेमका कारण दुखी जीवन जिउन बाध्य हुन्छन् भन्ने कुराको उदघाटन गरिएको छ। छोटो समयका लागि गाउँमा डाक्टर बनेर आएका सौरभले प्रभालाई धोका दिएर प्रभा बेवारिसे बन्न पुगेको घटना व्यक्त गरिएको छ।

‘मित्रता’ले धार्मिक सहिष्णुताको भाव बोकेको छ। ‘विश्वास’ मा कथा पात्रले छठीमाईप्रति विश्वास गर्दा छोरा जन्मेको तर छोरा पढीलेखी अमेरिका गएपछि आमाले छठ व्रत गर्दा समेत छोरो सात वर्षसम्म घर नफर्केको उल्लेख गरिएको छ।

परिबन्दमा पर्दा साधु पनि चोर बन्दछ भन्ने कुरा ‘सजाय’ कथाको मुख्य पात्र रामप्रीतमा देखिएको छ। वास्तविक चोर अर्कै रहँदा गैरचोरले सजाय भोग्नुपरेको तितो अनुभूतिलाई कथाको रूप दिइएको छ।

‘समाचार’मा बाढीपीडित नेपाली समाजको चित्रण गरिएको छ। प्राकृतिक प्रकोपको सिकार भएको समयमा लुटेर खाने प्रवृतिको व्याख्या गरिएको छ। राजन यसै त बाढीपीडित अझ घरमा बाँकी रहेका ओछ्यान खाट समेत चोरी हुँदा मन थाम्न नसकी आत्महत्याको बाटो रोज्नुपरेको पीडादायी घटनाको चित्रण गरिएको छ।

‘सपना’कथा नायिका हो। नायिका बन्ने सपना बोकेर शहर पसेकी सपना गाउँकै पुन्टे कार्कीको लहलहैमा लागेर बम्बैको कोठीमा बेचिएको नमिठो यथार्थ पोखिएको छ।

‘सुन्दरी’मा शारीरिक सुन्दरताको लालसामा पर्दा अफिसका हाकिम भ्रष्टाचारको चँगुलमा फसेको तथ्य प्रष्ट पारिएको छ।  ‘पीडा’ले श्रमजीवी कलाकारको तितो अनुभूतिलाई छर्लंग पारिएको छ। यस लघुकथासँगै मलाई गोकुल जोशीका उद्गारको सम्झना भयो–

भोकभोकै मर्न थाले कवि कलाकार

तड्पाएर नमार भो,झुन्ड्याएर मार!

कलाको अवमूल्यन भएको तथ्यलाई उक्त कथाले छर्लङ्ग पारेको छ।

‘आफन्त’लघुकथामा पढेकी रचना नामक देउरानीले अनपढ जेठानीलाई आफन्त नठानेकी तर लकडाउनका कारण कामविहीन हुँदा जेठानीको आत्मीय सद्भावबाट रचना लज्जित हुनुपरेको घटनाले वास्तविक आफन्तले दुःखसुखमा साथ दिने कुरा अथ्र्याइएको छ।

लघुकथाकार ममता मृदुलको ‘सेलाएको सयपत्री’

‘नातिनी’कथा नारीवादी कथा हो। माया नामकी छोरी पात्रले रोगाएका आफ्ना बाबुलाई औषधि खाने समय सम्झाउने गरेको तर घरमै भएका अन्य सदस्यले नसम्झेको प्रसंग उप्काएर छोरी घरकी लक्ष्मी र घरको संरक्षणकर्ता रहेको कुरा उल्लेख गरिएको छ।

‘आशा’मा छोराछोरीको आशा र आमाबाबुको आशा नमिल्दा   वियोग हुने र मिल्दा संयोग हुने विषय उठान गरिएको छ।

कथाकार नारीवादी कथाकारको रूपमा देखिन्छिन्। यसमा संग्रह गरिएका केही कथाले ‘आमा हुनुको पीडा’ कथामा लोग्नेले छोडेर चिल्लीविल्ली पारेपची कतिपय महिला आफ्नो ज्यान बन्धक राखेर छोराछोरी हुर्काउन बाध्य हुन्छन् भन्ने रहस्य उदघाटन गरिएको छ। एउटी आमाले ज्यान बेचेर समेत छोराछोरी लालनपालन गर्नुपर्ने बाध्यता चित्रित छ कथामा।

‘भान्छाघर’ एउटा गृहिणी महिलाको आत्मकथा हो। बर्मा गए कर्मसँगै,नेपाल गए कपालसँगै’ भनेजस्तै घरमा छँदा पनि हिरण्यमाया भान्से थिइन्। वृद्ध आश्रम पुग्दा समेत भान्सेको भूमिकाले उनलाई छोडेन।

‘जागिर’मा कथाकारले निजामती कर्मचारीको अभ्यास र व्यवहारप्रति व्यंग्य गरेका छन्। ‘इज्जत’कथामा बलात्कारको सिकार बनेकी बालिकाको अन्तरमनको द्वन्द्वको चित्रण गरिएको छ। कथाकारले यस कथामा स्वैरकल्पनाको प्रचुर प्रयोग गरेको देखिन्छ। कथाको नायक पात्रले प्रतिशोधको भावना राखेको कुरा व्यक्त गरिएको छ।

‘बन्धकी’चरम गरीबीमा परेका नेपालीको प्रतिनिधित्व गर्ने कथा हो। यसमा घरखेत बन्धकी राखेर बिदेसिएका छोरा विदेशमै भासिनु आम नेपालीको पीडा बन्न पुगेको कुरा कलात्मक रूपबाट उनिएको छ।

‘सम्बन्ध’कौतुहलता जगाउने कथा हो। यस कथाका मुख्य पात्र साविले आफ्नो पतिको हत्या गरेको स्विकार्दा पनि अर्को व्यक्ति ल्याउन चाहनु सम्बन्ध धराशायी बन्ने कुरा निश्चित छ।

‘सिन्धु’ पात्रप्रधान कथा हो। यस कथाका मुख्य पात्र साविले आफ्नो पतिको हत्या गरेको स्विकार्दा पनि अर्को व्यक्तिलाई ल्याउन चाहनु सम्बन्ध धाराशयी बन्ने कुरा निश्चित छ। ‘सिन्धु’ पात्रप्रधान कथा हो। कथाकी सहनायिका सिन्धु योगेशको रखौटी भए पनि अल्पायुमा योगेशको मृत्यु हुँदा सिन्धुबाट जन्मेको छोराले सिन्धुबाट जन्मेको छोराले किरिया बस्ने प्रसंगले कथा संयोगान्तमा समापन भएको छ।

‘पछुतो’ कथा पारिवारिक कथा हो। यस कथामा पारिवारिक कलहका कारण हत्यालाई आत्महत्यामा बदल्न खोजिएको तितो यथार्थ झल्किन्छ। अनुराधा लोग्नेसँग बस्न नचाहेको कुरा दिदीलाई बताउंँदा पनि दिदीले लोग्नेस्वास्नी मिलेर बस्न कर गर्दा नमीठो घटना घटेको उल्लेख गरिएको छ।

‘सेलाएको सयपत्री’ शीर्षक लघुकथा हो। यस कथामा कथाकारले दीपक पात्रका माध्यमबाट वैदेशिक रोजगारमा रहेका दाजुभाइ अचानक मृत्युको मुखमा पुगेका दिदीबहिनीले धेरै सयपत्रीका माला सेलाउनुपरेको दुखेसो गरेकी छन्।

‘जाहेरी’ घटनाप्रधान कथा हो। प्रेमसम्बन्धमा रहेका रेश्मा र ऋतुराजको विवाह हुन नदिन आफ्नै दाजुले जालझेल गरी प्रेमीको हत्या गरेर बैनीको बिहे आफूले रोजेको केटासँग गराएको नमिठो घटनालाई कथाको रूप दिइएको छ।

‘डाह’ पारिवारिक कथा हो। घरपरिवारका सदस्यहरूबिच डाहले अपराधको रूप लिन सक्ने सम्भावनालाई कथाकारले देउरानी जेठानी बिचको डाह भाव प्रस्तुत गरेकी छन्। ‘पत्रकार’कथा सामाजिक कथा हो। यसमा कथाकारले श्रमजीवी पत्रकारको दयनीय अवस्थाको चित्रण गरेकी छन्।

‘सिपाहीको जागिर’कथामा बेरोजगार युवा वर्गको आकर्षण सिपाही जागिरमा रहेको भए पनि घरसल्लाह नगरी भर्ती हुने प्रचलन रहेको तथ्य प्रस्तुत गरिएको छ। ‘परिणाम’पारिवारिक विघटनको कथा हो। यस कथाले हाडनाता बिचको अवैध प्रेम सम्बन्धका कारण महिलाले अनाहकमा ज्यान फाल्नुपरेको तितो सत्य देखाइएको छ।

‘छोरीका लागि’कथा एकल महिलाको संघर्षको कथा हो। छोरीकै लागि बिदेसिएकी आमा र उमेर चढेपछि पढाइ छोडेर पोइल गएकी छोरीको व्यवहार प्रस्तुत गरिएको छ। ‘फाइदा’कथा चुनावमा भोट किन्ने अखडाको रूपमा भट्टी पसललाई लिइएको कथा हो। यस कथामा दुई घटनाको वर्णन छ। देशमा चुनाव हुँदाअरूभन्दा भट्टी पसललाई बढी फाइदा हुने व्यंग्य गरिएको छ।

‘अरूको गोठालो’ कथामा अरूको खोजीनीति गर्दा आफ्नै घरमा डढेलो लाग्न सक्ने कुराको व्यंग्य गरिएको छ। ‘धोका’मा ढाँटीढुँटी बिहे गराउने प्रचलनको उजागर गरिएको छ। लमीले ढाँटेर बिहे गराइदिंदा विशेषगरी महिलाहरू हिंसाको सिकार बनेको यथार्थ देखाइएको छ।

‘चस्मा’ नितान्त पारिवारिक कथा हो। यसमा कथाकारले आफ्ना बाबुआमालाई दिएको उपहारप्रति बुहारीलाई डाह हुने कुरा चित्रण गरिएको छ। ‘मूल्य’ लघुकथासंग्रहको अन्तिम कथा हो। यस कथामा कथाकारले आफ्नै छोराले बाबुसँग ब्ल्याकमेल गरेको अप्रिय घटनालाई सम्पादन गरिएको छ। हरिप्रसादको कम्पनीमा हडताल गर्ने मजदुरको आन्दोलनको चावी हरिप्रसादकै छोरासँग भएको प्रसंगलाई कथाको रूप दिइएको छ।

समग्रमा ‘सेलाएको सयपत्री’ पठनीय कृतिका रूपमा देखिन्छ। यसमा सङगृहीत लघुकथाहरूले नेपाली समाजको दर्पण उतारेका छन्। सामाजिक विसंगतिलाई सूक्ष्म चित्रण गरिएको छ। आयामका दृष्टिले छोटा, रसका दृष्टिले मिठा र लक्ष्यार्थका दृष्टिले व्यंग्यार्थ लघुकथाहरू यस संग्रहमा पढ्न पाइन्छ। प्रत्येक कथाका छुट्टाछुट्टै सन्देश छन्। भलै म स्थापित समीक्षक त होइन तर यति लेख्ने धृष्टता गर्दै गर्दा भन्न करै लाग्यो मलाई। कुनैकुनै लघुकथामा एकभन्दा बढी विषयवस्तु समेट्ने प्रयास गरिएको भए पनि अधिकांश लघुकथा भने एउटै घटनामा टुंग्एिका छन्। तथापि कथाकार पात्रविधान र विषय विधानमा भने सचेत देखिन्छिन्।

अन्तमा लघुकथाकारलाई सफल साहित्यिक यात्राको हार्दिक शुभकामना।

प्रकाशित: ८ पुस २०७९ ०७:५७ शुक्रबार

अक्षर