कला

चिसो नेपालगन्जमा नेपथ्यको न्यानो

दिउँसो अबेला मात्र घाम देखिएको नेपालगन्जमा बेलुकीको चिसो बढ्दै गएको थियो। घडीको सुइ ठीक छमा पुग्नासाथ पर्दामा ‘सा कर्णाली’ म्युजिक भिडियो बज्न थाल्यो। त्यति बेलै त्यहाँ वायु होइन, आवाजले गर्दा एक्कासी तापक्रम बढेको महसुस भयो।

मञ्चको निकै अगाडि रंगशालाको प्यारापिटमा सपरिवार बसेका लक्ष्मीकान्त उपाध्यायका निम्ति यो सुखद् क्षण थियो किनभने अगाडि प्रस्तुत भइरहेको गीत कुनै बेला उनैको संकलनबाट नेपथ्यले प्राप्त गरेको थियो।

डोल्पा दुनैका वासिन्दा लक्ष्मीकान्तले यो गीत दसकौंअघि सुनेका थिए। त्यसमा केही जुम्लाका प्रभावहरू मिसाएर तयार पारेको यो गीतलाई झन्डै डेढ दसकदेखि नेपथ्यले गाउँदै आएको छ। अनि यो क्षणलाई प्रत्यक्ष साक्षात्कार गर्नकै निम्ति उनी अघिल्लो दिनमात्रै डोल्पादेखि नेपालगन्ज आएका थिए।

डोल्पा जिल्ला अस्पतालमै कार्यरत चिकित्सक छोरा र बुहारीका साथमा नेपालगन्ज रंगशालामा लक्ष्मीकान्त उपस्थित थिए। ‘यो गीत गाएर नेपथ्यले मेरो भेगलाई संसारभर पुर्‍याइरहेको छ,’ लक्ष्मीकान्तको प्रतिक्रिया थियो, ‘आफैले संकलन गरेको गीत यसरी भव्य किसिमले सुन्न पाउँदा एकदमै रमाइलो लागिरहेको छ।’

यसरी दुईवटा म्युजिक भिडियो देखाएपछि लगत्तै मञ्चमा चढेको नेपथ्य टोलीले पहिलो प्रस्तुतिका रूपमा ‘आँगनै भरि हिउँ नै झरे’ गीत सुनाएको थियो। नेपथ्य ब्यान्डकै यो पहिलो सिर्जना यसअघि गतसाता हेटौंडा कन्सर्टमा पनि पहिलो गीतका रूपमा प्रस्तुत भएको थियो।

विराटनगर, वीरगन्ज, हेटौंडा र चितवनपछि यो यसपटकको श्रृंखलामा पाँचौं प्रस्तुति थियो। अघिल्ला कन्सर्टहरूजस्तै यसमा पनि मैदान भरिएका दर्शकहरूको उत्साहपूर्ण उपस्थिति देखिन्थ्यो।

बिहीबार बेलुकीको कार्यक्रममा नेपथ्यले ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो देउराली डाँडा’ ‘खान्न म त लामपाते सुरती’, ‘चरि मर्‍यो’, ‘जोमसोमे बजारमा’ ‘शिरफूल शिरैमा वनफूल वनैमा’, ‘नैना ताल’ लगायतका गीत प्रस्तुत गर्‍यो।

नेपथ्यका गायक गुरुङले अब संगीतका माध्यमबाट मानवताको सेवातर्फ आफूहरूलाई मोडिरहेको बताए। 

प्रकाशित: २ पुस २०७९ ०३:५६ शनिबार

अक्षर