कला

अर्ग्यानिक खुराक ‘कालो पोथी’

स्वीजरल्यान्ड, जर्मनी र फ्रान्सबाट दुई करोड रुपैयाँभन्दा बढी ‘नगद’ जितेदेखि नै फिल्म ‘कालो पोथी’को चर्चा सुरु भएको थियो । तीन करोड ८५ लाखको लागतमा बनेको यो फिल्मले इटालीमा भएको ७२ औं भेनिस फिल्म फेस्टिभलको ‘इन्टरनेसनल क्रिटिक्स विक’ सेक्सनमा उत्कृष्टता समेत हासिल गर्यो ।
त्यसपछि दर्जनौं देशका फिल्म महोत्सवहरुमा डुलेको ‘कालो पोथी’ नेपालमा भने गत जेठ २१ देखि चल्न थालेको हो । दसवर्षे माओवादी द्वन्द्वले मुगुका दुई बालकको मित्रतामा ल्याइदिएको फाटो नै फिल्मको मुख्य कथा हो । यसका निर्देशक मीनबहादुर भाम मुगुकै वासिन्दा हुन् ।

फिल्मको नामजस्तै कथा पनि सरल छ । कुनै ‘लार्जर द्यान लाइफ’ भैंm लाग्ने पात्र वा दृश्यहरु छैनन् । पात्रहरु पनि सामान्य छन् । तर सानो कथामै एउटा निश्चित कालखण्डको नेपाली समाज, राजनीति र इतिहासलाई फिल्मले उत्खनन गर्छ ।

आफ्नी दिदीको पेवाको रुपमा रहेको पोथी कुखुरा हराएपछि प्रकाश (खड्काराज नेपाली) हैरान हुन्छ । आफ्नो मालिकको छोरा तथा साथी किरण (शुक्रराज रोकाय)लाई साथमै लिएर उसले कुखुराको खोजलाई जारी राख्छ । त्यही यात्राको दौरान उनीहरुले सामना गर्ने घटनाहरुमा फिल्म अघि बढ्छ । प्रकाश दलित समुदायको हो भने किरण तथाकथित उच्च जातको । तर, किरणलाई प्रकाशको जातको पर्वाह हुँदैन ।
फिल्मको मुख्य भूमिकामा देखिएका खड्काराज र शुक्रराज मुगुकै स्थानीय बालक हुन् । उनीहरुले यसअघि अभिनय गरेका छैनन् । तर, फिल्ममा उनीहरुको अभिनय कुनै स्टारको भन्दा कम छैन । दुवैको भविष्य उज्ज्वल छ ।

फिल्मः कालो पोथ (पाँचमा चार तारा)
निर्देशकः मीनबहादुर भाम
निर्माताः अन्ना क्याच्को, छिरिङरितार शेर्पा, देवकी राई, क्याथरिन डुसार्ट, अनुप थापा
लेखकः मीनबहादुर र अविनाशविक्रम शाह
कलाकारः खड्काराज नेपाली, शुक्रराज रोकाय, प्रवीण खतिवडा, बेनिशा हमाल, प्रवीण खतिवडा, विपिन कार्की आदि।

फिल्मको अर्को सशक्त पक्ष भनेको साउन्ड डिजाइन हो । हरेक दृश्य सजीव लाग्नुमा साउन्डको समेत योगदान छ । प्रायः नेपाली फिल्ममा साउन्डको रचनात्मक तथा प्राविधिक पक्षमा मिहेनत गरिएको पाइँदैन ।

धेरैजसो नेपाली फिल्मले दुर्गम वा हिमाली क्षेत्रको लोकेसनलाई प्रयोग त गर्छ तर त्यहाँका समाज र जीवनशैलीलाई उठाएर ल्याउँदैन । तर, यो फिल्मले कर्णाली क्षेत्रको लोकेसन, पात्र, भाषा र संस्कृतिलाई टपक्क टिपेको छ । पात्रहरुले खस भाषा बोल्ने भएकाले फिल्ममा नेपाली भाषाको सबटाइटल प्रयोग गरिएको छ । खस भाषाले गर्दा पनि पात्रहरु विश्वासिला लाग्छन् ।

पछिल्ला नेपाली फिल्महरुमध्ये उत्कृष्ट पटकथा यही फिल्मको हो भन्दा अतिशयोक्ति हुँदैन । यसमा कुनै पनि दृश्य वा संवाद अनावश्यक रुपमा समावेश गरिएको छैन । निकै चुस्त यसको पटकथा निर्देशक मीनबहादुर र अविनाशविक्रम शाह मिलेर लेखेका हुन् । दुवैले फिल्म उद्योगका अरु पटकथा लेखकलाई स्वच्छ पटकथा लेखनको पाठ सिकाएका छन् ।

निर्देशक मीनबहादुर नाटक पृष्ठभूमिबाट आएकाले फिल्मको छायांकनमा उनले नाटककै संरचनालाई सापट लिएका छन् । अर्थात् नाटकमा जसरी दर्शकले सबै दृश्य ‘लङ सट’मा देख्छ, ‘कालो पोथी’का पनि धेरैजसो दृश्य ‘लङ सट’मा छन् । नाटकमा ‘सट ब्रेक’ हुँदैन । दर्शकले एउटै एंगलमा हेर्नुपर्ने हुन्छ । ‘कालो पोथी’मा पनि ‘सट ब्रेक’ छैन । अरु अधिकांश फिल्ममा जस्तो यसमा ‘सट’हरुलाई लङ, मिड, क्लोज, प्वाइन्ट अफ भ्यु, ओएस (ओभर दि सोल्जर)मा ब्रेक गरिएको छैन ।

एउटा सुदूर क्षेत्र (मुगु) र सुदूर समय (माओवादी द्वन्द्वकाल)को कथा भएकोले दर्शकलाई त्यो सुदूरपनको आभास दिलाउन निर्देशक मीनबहादुरले यस्तो शैलीमा फिल्मलाई प्रस्तुत गरिएको भान हुन्छ । फिल्म हेरुन्जेल दर्शकलाई आफ्नो बाल्यकालको झझल्को आइरहनुको एउटा कारण यो पनि हुनसक्छ ।
रारातालसहितको मुगु जिल्लाका ल्यान्डस्केपहरु निकै सुन्दर छन् । यसमा कुनै द्विविधा छैन । धेरै लेखकले ती क्षेत्रको यात्रा संस्मरणमा भरपूर तारिफ गरेका छन् । तर, ‘कालो पोथी’मा ती सुन्दर ल्यान्डस्केपहरुको उपस्थिति छैन । राराताललाई समेत आकर्षक फ्रेममा कैद गरेका छैनन् ।

धेरैलाई लाग्ला यो फिल्मका छायाँकार अजिज जाम्बाकिएभको कमजोरी हो । तर, त्यो सत्य होइन । बर्लिन फिल्म फेस्टिभलमा अवार्ड जितिसकेका जर्मन नागरिक अजिजले मीनबहादुरको निर्देशनमै नियतवश मुगुलाई सुन्दर देखाउन नखोजेका हुन् । मुगुको भूगोल होइन त्यहाँका मानिसहरुको कथालाई ‘कालो पोथी’ले टिपेको हो । मुगुबासीहरुको कथा पीडा र ‘कुरुपता’ले भरिएको छ । त्यसैले यो कथामा भौगोलिक सुन्दरताको कुनै जरुरी छैन ।

मुगुको द्वन्द्वकालीन कथा आपैंmमा संवेदनाले भरिभराउ छ । त्यसैले पनि होला निर्देशकले ‘कालो पोथी’का दृश्यलाई अझ इमोसनल बनाउन ‘सट ब्रेक’को सहारा लिएका छैनन् । कतिपय दृश्यमा पात्रको ‘क्लोज अप’ समावेश गर्दा अझ मार्मिक बन्न सक्थ्यो । तर, निर्देशक भामले त्यसो गरेको देखिँदैन । अत्यन्त स्वभाविक दृश्यहरुको निर्माण गरेका छन् । दर्शकलाई रुवाएको रुवायै गर्न सकिने दृश्यमा समेत उनले ‘इमोसनल ब्ल्याकमेल’ हुन दिएका छैनन् ।

जंगलको ‘क्रसफायर’मा किरणको भिनाजु र प्रकाशकी दिदी दुवैका लाश देखिन्छन् । तर, दुवै पात्रले दुवै लाश देख्दैनन् । दर्शकलाई मात्र देखाइएको छ । दुई बालक पात्रहरुले आफ्नो परिवारमाथि परेको बज्रपातप्रति बेखबर रहँदै यात्रालाई निरन्तरता दिन्छन् ।

फिल्ममा ‘लङ टेक’ अर्थात् लामा–लामा सटहरु हेर्न पाइन्छ । सामान्यतया डेब्यु निर्देशकले यस्तो शैली अपनाउँदैनन् । तर, मीनले हिम्मत देखाए ।

‘लङ टेक’मा कलाकारहरुलाई पनि अभिनय गर्न गाह्रो हुन्छ । ‘लङ टेक’ गीत रेकर्डिङमा प्रयोग हुने एनालग प्रविधिजस्तै हो । पाँच मिनेटको ‘लङ टेक’मा कुनै एक कलाकारले मात्र गल्ती गरे पनि फेरि सुरुदेखि सबै सट खिच्नुपर्ने हुन्छ ।

‘लङ टेक’ले फिल्मलाई कृत्रिम देखिनबाट जोगाएको छ । यसले गर्दा पात्रहरुका एक्सन–रियाक्सन एकदमै स्वभाविक देखिएको छ । पात्र र दृश्यमा छायाँकार र एडिटरको हस्तक्षेप छैन । वास्तवमा ‘लङ टेक’ले निर्देशकको क्षमतालाई छर्लंग पारिदिन्छ । सामान्य शैलीको खिचाइमा छायाँकार र एडिटरको पनि योगदान रहन्छ । छायाँकारले विभिन्न एंगल र कटिङमा खिच्छन् । पछि एडिटरले ती सटहरुलाई जोडेर थप अर्कै प्रभाव उत्पन्न गर्नसक्छन् । तर ‘लङ टेक’मा निर्देशकले सुटिङस्थलमा जे कैद ग¥यो हलमा पुग्दासम्म त्यो यथावत रहन्छ । त्यसैले निर्देशकका लागि ‘लङ टेक’ एउटा अग्निपरीक्षासरह नै हुन्छ । मीनबहादुर यो अग्निपरीक्षामा खरो उत्रिएका छन् ।

फिल्ममा ‘ब्याकग्राउन्ड म्युजिक’ पनि प्रयोग गरिएको छैन । दृश्यलाई पोस्ट प्रोडक्सनमा लगेर थप मार्मिक वा भावुक बनाउने चलाखी मीनले गरेका छैनन् । यथार्थ जीवनमा ‘ब्याकग्राउन्ड म्युजिक’ बज्दैन । ‘कालो पोथी’ यसकारण पनि निकै यथार्थ लाग्छ ।

‘लङ टेक’मा दृश्यहरुलाई प्रस्तुत गर्ने मीन भामको शैली रुसी फिल्ममेकर आन्द्रे तार्कोस्कीबाट प्रेरित देखिन्छन् । तार्कोस्कीले फिल्म निर्माणमा आफ्नो बेग्दै दृश्य भाषा नै स्थापित गरेर गए । तार्कोस्कीकै पहिलो फिल्म ‘इभान्स चाइल्डहुड’मा इभान पात्रले पनि अनौठा सपनाहरु देख्छन् । ‘कालो पोथी’को प्रकाश पात्रले देख्ने सपनाहरु कहीँकतै ‘इभान्स चाइल्डहुड’बाट प्रभावित लाग्छ ।

फिल्ममा इमोसनको उतारचढाव त्यति नाटकीय छैन । लगभग एउटा रेखामा सीमित छ । मुगुको जीवनशैलीसँग मेल खान्छ, ‘कालो पोथी’को स्थीर इमोसन । काठमाडौंको जस्तो उतारचढावपूर्ण छैन मुगुको जीवनशैली । त्यहाँ हिँड्ने बाटो, गाउँका अनुहारहरु, कुराकानी, खानपिन सबै सधैं लगभग उही रहन्छ । कुनै उतारचढाव नै छैन । ‘कालो पोथी’ले यो पनि महसुस गराउँछ ।

फिल्म सुन्दर विम्बहरुले भरिएको छ । सर्वप्रथम सेतो पोथीलाई कालो पोत्ने प्रसंग नै विम्बात्मक छ । बालबालिकाको स्वच्छ र सुन्दर जीवनमा उमेरसँगै समाजले कालो पोत्दै जान्छ । किरण दलित साथी प्रकाशको जुठो पनि खान्छ । तर, समाजले उसको सेतो व्यवहारलाई कालो रङमा बदलिछोड्छ ।
सेतो पोथीलाई शान्तिको प्रतीकका रुपमा पनि प्रस्तुत गरिएको छ । हराएको शान्ति खोज्न किरण र प्रकाशले निकै दुःख गर्छन्, उनीहरुले के–केसम्म गर्दैनन् ! अन्तिममा उनीहरु स्वयं कालो हिंसाको चपेटामा पर्छन् ।

पोथी खोज्ने क्रममा दुई बालक आफ्नो गाउँभन्दा उचाइमा रहेको गाउँतिर उक्लिन्छन् । उनीहरु उचाइमा पुग्छन् । जतिजति उचाइमा उक्लिन्छ, उनीहरुको जीवन उतिउति कष्टकर बन्दै जान्छ । र, माओवादी र राज्यबीचको द्वन्द्व पनि उत्कर्षमा पुग्छ । माओवादीविरुद्ध सरकारले सेना परिचालन गर्ने समाचार रेडियोमा बजाएर उक्त कुरा बुझाइएको छ । खुनले लत्पतिएको आफ्नो शरीर रारातालमा पखालेको दृश्य पनि विम्बात्मक छ ।

मीन भाम सफल निर्देशकमात्र होइन ‘फिल्म थ्यौरिस्ट’ हुने दिशामा उन्मुख छन् । फिल्मलाई सैद्धान्तिक पक्षमा मजबुत बनाउनसक्ने फिल्मकर्मीको नेपालमा अभाव छ । मीनले त्यो अभावलाई पूर्ति गर्नसक्छन् । एउटा अग्र्यानिक खुराक भएकोले फिल्म ‘कालो पोथी’लाई राज्यले प्रोत्साहित गर्नुपर्छ ।

 

प्रकाशित: ४ असार २०७३ ०३:०६ शनिबार

अर्ग्यानिक खुराक पोथी