कला

नाइँ नभन्नू ल' नाम नै ब्रान्ड

काठमाडौं— यदि कसैले फिल्मको नामलाई नै ब्रान्ड बनाएका छन् भने, ती हुन् विकास आचार्य । निर्माता तथा निर्देशक आचार्यको फिल्म 'नाइँ नभन्नू ल'को नाम ब्रान्डका रुपमा स्थापित भइसकेको छ । आउँदो शुक्रबारदेखि यही ब्रान्डको चौथो शृंखला अर्थात् फिल्म 'नाइँ नभन्नू ल–४' रिलिज हुँदैछ। 

अरु निर्माता तथा निर्देशकहरु आफ्नो फिल्मको रिलिज नजिकिँदै गर्दा तनाव र छटपटीमा देखिन्छन् । तर, निर्देशक आचार्यलाई कुनै तनाव छैन । उनमा एक रत्ति पनि दबाब वा चिन्ता देखिँदैन । ढुक्क छन् उनी ।

फिल्मका दुई गीत 'मैना राजा मैना रानी' र 'चिया कफी'लाई युट्युबमा क्रमशः १३ लाख तथा १० लाखभन्दा बढीले हेरिसकेका छन् । फिल्मको बारेमा युवा वर्गमा जुन खालको जिज्ञासा बढिरहेको पाइएको छ, त्यसले आचार्यको उत्साह बढाएको छ । त्यसैले उनलाई लागेको हो, चौथो शृंखला दर्शकले पक्कै रुचाउनेछन् ।

चौथो खुड्किलासम्म 'नाइँ नभन्नू ल' टिकिरहनुमा निर्देशक आचार्य तीन कारण दिन्छन्, 'यसको हरेक शृंखलामा नयाँ–नयाँ कथा देखाएका छौं, गीतसंगीत लोकप्रिय छन् र हरेक शृंखलाको प्राविधिक स्तरमा वृद्धि गरिरहेका छौं ।' त्यसैले व्यापारको ग्राफमा दोस्रो शृंखला पहिलो स्थानमा रहे पनि उनी यसपालिको शृंखलालाई कलात्मक रुपमा अहिलेसम्मकै उत्कृष्ट बनेको दावी गर्छन् ।

दिनेश पोखरेल र हरिबोल भण्डारीसमेतको लगानी रहेको तथा सरोज खनाल, प्रियंका कार्की, पल शाह, वर्षा राउत, आँचल शर्मा र अनुभव रेग्मीले अभिनय गरेको 'नाइँ नभन्नू ल–४' नेपालका ५० भन्दा बढी हल र अस्टे«लियामा शुक्रबार एकसाथ चल्दैछ । नेपालमा सोही दिन रेखा थापाको 'रामप्यारी' फिल्म पनि रिलिज हुँदैछ । 'पहिलो शृंखलादेखि नै विभिन्न फिल्मसँग एकैदिन रिलिज हुँदै आएकोले यसपालि पनि अप्ठेरो पर्दैन भन्ने लागेको छ,' उनी बेफिक्री छन् ।

उनी २०६५ सालसम्म सिर्पm पटकथा लेखक थिए । ८० भन्दा बढी फिल्मको पटकथा लेखिसकेपछि एकदिन उनी निर्माता दिलकुमार प्यासीलाई 'न शिव आफ्नो'को पटकथा सुनाउँदैथिए । उनले निर्देशनको समेत अफर पाए । स्वयं निर्माता प्यासीबाट । त्यसपछि उनले 'न शिव आफ्नो'लाई आपैंmले निर्देशन गरे ।

उनले निर्देशन गरेका फिल्ममध्ये 'म तिम्रो भइसकेँ' मात्र व्यापारमा असफल रह्यो । बाँकी सबै फिल्म नाफा कमाउन सफल रहे । 'नाइँ नभन्नू ल–४' रिलिज नहुँदै उनले दुई फिल्मको गृहकार्य सिध्याइसकेका छन् । 'निराञ्जना'लाई उनी आपैंm निर्देशन गर्दैछन् भने 'समर लभ'लाई 'नाइँ नभन्नू ल–३'का निर्देशक मुस्कान ढकालले निर्देशन गर्दैछन् । 'नाइँ नभन्नू ल'को शृंखलालाई भने उनले तत्कालका लागि रोकेका छन् ।

लक्षित वर्ग बालबालिका पनि भएकाले आफ्नो फिल्मलाई सधैं चैतको अन्तिम हप्ता रिलिज गर्दै आएको आचार्य बताउँछन् । 'चैतको अन्तिम हप्ता एसएलसी पनि सकिन्छ, स्कुलहरुमा पनि बिदा हुन्छ, त्यसैले मैले यही सिजनतिर फिल्म रिलिज गर्ने गर्छु,' उनले थपे, 'नयाँ वर्षमा नयाँ फिल्म हेर्ने दर्शकको इच्छा पनि मैले पूरा गर्दै आएको छु ।'

प्रकाशित: २६ चैत्र २०७२ ०७:११ शुक्रबार

नाइँ नभन्नू ल' नाम नै ब्रान्ड