कला

‘किशोर’को ‘डोल्पो ओ डोल्पो’ र कार्कीको ‘सन्दिग्ध शताब्दी’लोकार्पण

साझा प्रकाशनले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रसिद्ध नियात्राकार डा.दामोदर पुडासैनी ‘किशोर’को नियात्रासंग्रह ‘डोल्पो ओ डोल्पो’ र कवि तथा निबन्धकार श्रीबाबु कार्कीको निबन्धसंग्रह ‘सन्दिग्ध शताब्दी’ को लोकार्पण गरेको छ।

कार्यक्रममा प्राडा  रमेश भट्टराईले डा. दामोदर पुडासैनीको ‘डोल्पो ओ डोल्पो’ माथि समीक्षात्मक टिप्पणी गर्दै दामोदर पुडासैनीको लेखन निकै कलात्मक र स्तरीय रहेको बताए। उनले कृतिका हरेक पृष्ठहरूले आफूलाई आकर्षित गरेको बताए।

समालोचक प्रमोद प्रधानले श्रीबाबु कार्कीको ‘सन्दिग्ध शताब्दी’ निबन्धसंग्रहको समीक्षात्मक टिप्पणी गरेका थिए। उनले नेपाली आत्मपरक निबन्ध लेख्ने निबन्धकार निकै कम रहेको उल्लेख गर्दै कार्कीको निबन्धसंग्रह जीवनजगतलाई नजिकबाट हेर्न सकिने शक्तिशाली संग्रह रहेको बताए।

उनले कलात्मक भाषाशैली, काव्यात्मक प्रस्तुति, सूक्तिमयता र जीवन दर्शनको सघन प्रस्तुति कार्कीको निबन्धको विशेषता रहेको बताए। 

उनले हरेक निबन्ध कालजयी र पाठकहरूलाई बौद्धिक आस्वाद गराउनेमा आफू ढुक्क रहेको पनि दावी गरे।

उक्त कार्यक्रममा विशेष अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले ‘व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश’ का लागि कोशकार प्राध्यापक नीलमणि ढुंगानालाई ५१ हजार राशि र प्रमाणपत्रसहित २०७८ सालको साझा पुरस्कार प्रदान पनि गरिएको थियो।

साझाका महाप्रबन्धक तथा वरिष्ठ कवि प्रल्हाद पोखरेलले लोकार्पण कार्यक्रममा  कवितात्मक स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम साझा प्रकाशका अध्यक्ष तथा वरिष्ठ साहित्यकार विजय सुब्बाको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रकाशित: २३ मंसिर २०७९ ०४:०६ शुक्रबार

अक्षर