कला

‘उमिहोतारु’ नियात्रासंग्रह बजारमा

उमिहोतारु नियात्रासंग्रह बजारमा आएको छ। अनुसन्धानमूलक नियात्रामा कलम चलाउने बेलायतबासी साहित्यकार कृष्ण बजगाईंको यो चौंथो नियात्रासंग्रह हो। यसअघि बजगाईंका युरोशियाको स्पर्श, भाया साक्रा र दाइबुचु नियात्रासंग्रह आइसकेका छन्।

उमिहोतारु नियात्रासंग्रहमा अमेरिका, बेलायत र जापानका एक्काइस यात्रानुभूति सङगृहीत छन्। विदेशका इतिहास, कला, साहित्य र संस्कृति आदिका विषयमा नियात्रा लेख्न मन पराउने बजगाई अलग धारका नियात्राकार हुन्।

नियात्रा, कथा, लघुकथा, बालकथा र हाइकुका दर्जन बढी कृति प्रकाशित गरिसकेका बजगाईं डायोस्पोराका स्थापित साहित्यकार हुन्।

नेपालमा हुँदा साहित्य सिर्जना, सम्पादन तथा साहित्यिक संघसंस्थामा सक्रिय बजगाई परदेशको भूमिमा पनि २२ वर्षदेखि लेखन, सम्पादन र साहित्यिक सस्थाको नेतृत्वदायी भूमिका छन्। उनका एक लघुकथा नेपालको कक्षा १२ मा, दुई लघुकथा म्यान्मारको नेपाली विद्यालयको कक्षा ९ मा र चार नियात्रा नेपालका त्रिभुवन विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको स्नातक तहको पाठ्यक्रममा पढाइ हुन्छ।

बजगाईंले पन्ध्र वर्षदेखि बेलायतबाट साहित्यिक वेब पत्रिका समकालीन साहित्य डट कमको प्रकाशन तथा सम्पादन गरिरहेका छन्। उनी पाँच वर्षदेखि नियमित प्रकाशित भइरहेको नेपाली भाषा साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’ का प्रधान सम्पादक तथा समकालीन साहित्य प्रतिष्ठान बेलायतका संस्थापक अध्यक्ष हुन्।

भुँडीपुराण प्रकाशन काठमाडौंबाट प्रकाशित उमिहोतारुको मूल्य ३०० रुपैयाँ छ। उक्त पुस्तक नेपालभरका मुख्य पुस्तक पसल र अनलाइनबाट बिक्री भइरहेको छ।

प्रकाशित: १४ मंसिर २०७९ ०२:४९ बुधबार

अक्षर