कला

भगवानको कृपा

लघुकथा

शान्ता पौडेल

दिउँसो दोस्रो तलाको झ्यालबाट तल हेर्ने क्रममा छोरा तिस फिट जति तल बझारियो।

ऊ दुई वर्षको मात्रै थियो। माटाको पुरानो घर थियो। झ्यालमा रेलिङ हालेको थिएन। डेरा थियो। म एक कुनाको किचनमा छोरालाई खानेकुरा तयार पार्न व्यस्त थिएँ। हतासिंदै छोराको अवस्था कस्तो छ, माथिबाट हेरे। छोरा रोएन पनि, चलेन पनि।

तल्लो तलामा बस्ने भाइहरूले हतारहतार टिपेर बोके। लल्याकलुलुक भएको देखें। सास त रहेछ भनेर चिच्याउँदै तल झरें र बिलौना गर्दै छोरा काखमा बोकें। छोरा बेहोस थियो। मेरो पनि होस हरायो। पृथ्वी नै भासिएझैं भयो। नन्दलाई बोलाएर हतार-हतार टयाक्सीमा अस्पताल लगें।

मसँग पैसा थिएन। नन्दले उपचार गर्न सहयोग गर्छु भन्नुभयो र टिचिङ हस्पिटल लगेर भर्ना गर्‍यौं।डाक्टरले भन्नुभयो,‘सिटी स्क्यान गर्नुपर्छ। टाउको धेरै सुन्निएको छ।’

समय लिएर इमर्जन्सीमा सिटिस्क्यान गर्‍यो। छोरा बेहोस छ। टाउको पूरै सुन्निएको छ। आँखा वरिपरि पूरै रगत जमेको छ।

डाक्टरले भन्नुभयो,‘यदि टाउकोमा रगत जमेको भए बाँच्ने सम्भावना कम हुन्छ। यहाँ राख्न मिल्दैन। बच्चाको हस्पिटल लानु रिपोर्ट आएपछि।’

मैले मुन्टो हल्लाउँदै भने, ‘हस सर!’

बल्लतल्ल राति रिपोर्ट आयो। डाक्टरलाई रिपोर्ट देखाएँ।

उहाँले भन्नुभयो, ‘सबै नर्मल छ। बाहिर मात्र धेरै सुनिएको हो। डर  मान्नु पर्दैन।’

छोरा बाँच्ने आशाले फुरुङ्ङ परें। बिस्तारै छोराको होस पनि आउन थाल्यो। आँखा र टाउको वरिपरि सुनिएको थियो। त्यो रात त्यहीं राखेर घर ल्याएँ। बिस्तारै छोरा निको हुँदै गयो।

एकजना छिमेकी भन्दै थिए, ‘भगवानको कृपाले तपाईको छोरा बाँच्यो।’

मैले अनायास भनेंछु, ‘छोरा लड्दा कहाँ गएको रहेछ भगवान्।’

प्रकाशित: २ मंसिर २०७९ ०८:०१ शुक्रबार

अक्षर