निर्वाचन विशेष

त्रियुगा १३ को वडाध्यक्षमा कांग्रेस विजयी, मेयर उपमेरमा कांग्रेसै अघि

त्रियुगा १३ मा कांग्रेसबाट विजयी वडाध्यक्ष नविन चौधरी।

त्रियुगा नगरपालिका १३ को वडाध्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। शुक्रबार बिहान घोषित नतिजा अनुसार कांग्रेसका नविनकुमार चौधरी ९ सय ६० मत प्राप्त विजयी भएका हुन्।

उनका निकटम प्रतिद्वन्दी नेकपा (एमाले)का राम कट्टेलले ९ सय २३ मत पाए भने नेकपा (एकीकृत समाजवादी) की पशुपति चौधरीलाई ३ सय ८१ मत मात्र परेको छ। निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी रहे पनि अन्तिम परिणाम भने आइसकेको गणनास्थलमा रहेका कांग्रेस प्रतिनिधिले जनाएका छन्।

उता वडा नं. ३, ४ र ५ को पनि गणना भइरहेको छ। ३ मा पनि कांग्रेसकै तिलक कटुवालले बाजी मारिसकेको पार्टीले जनाएको छ। बिहान ९ बजेसम्मको गणना परिणाम अनुसार कटुवालले ९ सय ४३ मत ल्याएर एमालेका उम्मेदवार धर्म तामाङलाई १ सय ८२ मतान्तरले पछि पारिरहेका छन्।

एकीकृत समाजवादीका अवधेशप्रसाद चौधरीले भने ४ सय ४० र राप्रपाका रामबहादुर श्रेष्ठले १ सय ३ मत पाइरहेका छन्। मेयरतर्फ कांग्रेसका बसन्त बस्नेत फराकिलो मतान्तरले अगाडि छन्। बस्नेतलाई ६ हजार २ सय २६ मत लिएर निकटन प्रतिद्वन्दी बलदेव चौधरीलाई ९ सय ५० मतले पछि पारिरहेका छन् भने एमालेका भागवत राउतभन्दा १ हजार ६ सय ३३ मतले अग्रता लिइरहेका छन्।

चौधरीलाई ५ हजार २ सय ७६ मत परिरहेको छ भने राउतले ४ हजार ६ सय ९३ मत पाइरहेका छन्। उपमेयरमा कांग्रेसकै अग्रता कायम छ भने एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा छ। कांग्रेसकी सरिता राईले ५ हजार ६ सय ३१ मत पाइरहँदा एमालेकी महेश्वरी राईलाई ६ हजार २ सय ३० र माओवादीकी गीता खड्का कार्कीले ४ हजार ७९ मत पाइरहेकी छिन्।

३८ हजार ४ सय ५ मत खसेको त्रियुगामा १, २, ३ र १३, १४, १५ तथा १६ नं. को मत गणना सकिएको छ भने ४ र ५ को गणना भइरहेको छ। अब ६, ७, ८, ९, १०, ११ र १२ नं. को गन्न बाँकी छ। अहिलेसम्म १, ३ र १३ मा कांग्रेसले वडाध्यक्ष जित्दा १४, १५ र १६ मा माओवादी केन्द्र र २ नं. मा एमालेले वडाध्यक्ष जितेको छ।

हालसम्म १७ हजार ४ सय १४ मत मात्रगणना भइरहेको त्रियुगामा धेरै मत भएको गाईघाट क्षेत्रका ११, १२ र १० नं. वडाको गणना बाँकी रहेकाले मेयरमा नै कसले बाजी मार्छ भन्ने अनुमान गर्न गाह्रो छ।

प्रकाशित: १३ जेष्ठ २०७९ ०७:०३ शुक्रबार

त्रियुगा नगरपालिका निर्वाचन अधिकृतको कार्यालय