निर्वाचन विशेष

बराहक्षेत्रमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले उम्मेदवार विजयी

सुनसरी वराहक्षेत्र नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरमा नेपाली कांग्रेसका रमेश कार्की र उपमेयरमा नेकपा एमालेकी नन्दकुमारी राई विजयी भएकी छिन्। कार्कीले १९ हजार २९३ मत ल्याएर विजयी भए।

उनले एमालेका निलम खनाललाई ५ हजार १३९ को मतान्तरले पराजित गरे। उनका निकटतम प्रतिद्वन्दी खनालले १४ हजार १५८ मत मात्र ल्याए। खनाल वराहक्षेत्र नगरपालिकाका निवर्तमान मेयर हुन्। मेयरमा विजयी कार्की भने नेपाली कांग्रेस बराहक्षेत्र नगर समिति सभापति हुन्। उपमेयरमा एमालेकी राईले १५ हजार ७६६ ल्याएर विजयी भइन्।

उनका निकटतम प्रतिद्वन्दी सत्ता गठबन्धन दलबाट माओवादी केन्द्रका अमित गौतमले १० हजार ५४४ मत ल्याए। एमालेले यसपटक उपप्रमुखसहित ३ वटा वडाध्यक्ष मात्र जितेको छ। ११ वटा वडामा यसपटक कांग्रेसले आठवटा वडा जितेको छ।

बराहक्षेत्रमा २०७४ सालमा भएको निर्वाचनमा मेयर र उपमेयरसहित आठवटा वडा एमालेले जितेको थियो।  कांग्रेसले तीनवट वडा मात्र जितेको थियो। बराहक्षेत्रमा यसपटक ६३ हजार ६०८ कुल मतदातामध्ये ४३ हजार ५७ मत खसेको थियो।

प्रकाशित: ८ जेष्ठ २०७९ ०४:०२ आइतबार

सुनसरी वराहक्षेत्र नगरपालिका