निर्वाचन विशेष

राप्तीमा गठबन्धनका उम्मेदवार विजयी

पूर्वी चितवनको राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्।

नगरप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा समाजवादीका शमशेर लामाले नेकपा एमालेका गोविन्दप्रसाद कँडेललाई ४७३ मतले पराजित गरेका हुन्। लामाले १२ हजार ५२४ मत प्राप्त गर्दा कँडेलले १२ हजार ५१ मत प्राप्त गरे।

यस्तै राप्रपाका मनोज अधिकारीले ८३२ मत प्राप्त गरेका थिए। उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका देवेन्द्र लामाले नेकपा एमालेका मेनुका पाठकलाई २३४ मत अन्तरले पराजित गरेकाे छ।लामाले १२ हजार ६८२ मत प्राप्त गर्दा पाठकले १२ हजार ४४८ मत प्राप्त गरेकाे हाे।

यस्तै राप्रपाकी मीराकुमारी बर्तौलाले ९५४ मत प्राप्त गरे। यस पालिकाका वडा नं १, २, ३, ४, ५, ६, ८ र ९ मा नेकपा एमाले, १० मा नेकपा समाजवादी, १२ र १३ मा नेपाली कांग्रेस एवं ७ मा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन्।

यस पालिकामा २९ हजार ७३७ मत खसेको थियो। यससँगै जिल्लाका ६ पालिकाको मतगणना सम्पन्न भएको छ। भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ।

प्रकाशित: ६ जेष्ठ २०७९ १४:२४ शुक्रबार