मधेस आन्दोलनका चर्चित अनुहार राजेन्द्र महतोको गाउँमा लोसपाको नराम्रो पराजय भएको छ। राजेन्द्र महतोको वडा र पालिकाका नेपाली काँग्रेसले जित हासिल गरेको छ।
सर्लाहीका चन्द्रनगर गाउँपालिकाको वडा नम्बर २ बबरगंजमा नेपाली काँग्रेसले वडाध्यक्षमा विजय हासिल गरेको छ। यसै गरी चन्द्रनगर गाउँपालिकाको प्रमुखमा नेकाकै राजकुमार महतो निर्वाचित भएका छन्।
महतोले ३९९५ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका लोकेन्द्र मुखियाले ३५३६ मत प्राप्त गरेका छन्। गाउँपालिकाको उपप्रमुखमा भने नेकपा माओवादीकी गीतादेवी महतो निर्वाचित भएकी छन्। उपाध्यक्षमा महतोले ३८६० मत ल्याएर जित निकाल्दा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी मन्जु देवीले २९५८ मत प्राप्त गरेकी छन्।
काठमाडौँमा निकै राम्रो पदमा आइएनजिओको जागिर छाडेर सोझै गाउँपालिका प्रमुखको उम्मेदवार बनेर जित हासिल गरेका राजकुमार महतोले आफ्नो गाउँमा रहेको प्रदेशकै सबैभन्दा ठूलो प्राकृतिक नाढीमन ताललाई पर्यटकीय दृष्टिकोणले विकास गर्ने, पालिकाका दलितहरुलाई सम्मानको जीवन बाँच्नयोग्य बनाउने र भौतिक पूर्वाधारका साथै शिक्षा र स्वास्थ्यको संरचनामा आमूल परिवर्तन गर्ने योजना बनाएको बताएका छन्।
नेपाली काँग्रेसका चर्चित युवा नेता गगन थापाको निकै नजिक मानिएका नवयुवक गापा अध्यक्ष महतोलाई जिताउन प्रदेशका दलित र कमजोर समुदायले एक किसिमको अभियान नै चलाएका थिए। स्वच्छ छवि र इमानदार तथा नैतिकवानका साथै अत्यन्त कडा परिश्रम गर्ने नवयुवक गापा अध्यक्ष महतोले सम्पूर्ण ध्यान समाजसेवामा केन्द्रित गरी पालिकाको अलग्गै पहिचानमा सबैको सहयोग लिने बताएका छन्।
प्रकाशित: ६ जेष्ठ २०७९ १३:५० शुक्रबार