निर्वाचन विशेष

काठमाडौं महानगरमा ५ वटा वडामा एमालेले जित्यो, यी वडामा स्थापितले पाए आधा मत

काठमाडौं महानगरपालिकामा मतगणना सकिएको पाँच वटै वडामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारहरू निर्वाचित भएका छन्। निर्वाचित वडा अध्यक्षहरूले कूल १० हजार ५ सय ५९ मत पाउँदा त्यही पार्टीका मेयर उम्मेदवार केशव स्थापितले आधा मात्रै मत पाएका छन्।

ती पाँच वडा वडामा उनले ५ हजार २ सय ८६ मत मात्र प्राप्त गरेका छन्। मतगणना सकिएका पाँच वटै वडामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ९ हजार ८ सय ६१ मत प्राप्त गरेका छन्। काठमाडौं महानगरको जारी मतगणनामा मेयर पदमा शाहको अग्रता कायमै छ भने उनलाई एमालेका स्थापितले पछ्याइरहेका छन्।

हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर ६, ७, २८, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ। १२ वटै वडाहरूका ५९ हजार ८ सय ९७ मत गणना गर्दा शाहले २३ हजार ५८४ मत प्राप्त गरेका छन् भने स्थापितले १२ हजार ३८० मत प्राप्त गरेका छन्।

प्रकाशित: ५ जेष्ठ २०७९ १३:२३ बिहीबार

काठमाडौं महानगरपालिका नेकपा एमाले केशव स्थापित बालेन्द्र शाह