निर्वाचन विशेष

चितवन कालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी

चितवनको कालिका नगरपालिकाको प्रमुख र उपप्रमुख नेकपा (एमाले) विजयी भएको छ। कालिकाको प्रमुखमा एमालेका विनोद रेग्मी र उपप्रमुखमा विमला तामाङ निर्वाचित भएका छन्। एमालेका विनोद रेग्मीले नेपाली कांग्रेसका शिवराम केसीलाई १४३ झिनो मतान्तरले पराजित गरेका हुन्।

रेग्मीले १० हजार ७१४ मत ल्याउँदा केसीले १० हजार ५७१  मत ल्याएका छन्। उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा कालिका नगरपालिकाको वडा नम्बर ६को वडाध्यक्षमा १ हजार ४७७ मत ल्याएर निर्वाचन भएका थिए। २०७४को निर्वाचनमा पनि नेकपा एमालेका खुमनारायण श्रेष्ठ ३२८ मतको झिना मतान्तरले विजयी भएका थिए। 

कालिका नगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनबिच नै प्रतिस्पर्धा चलेको थियो। सुरुदेखि नै केसी र रेग्मी अघिपछि हुँदै आएका थिए। अन्तिमा रेग्मी र केसीको आफ्नै वडा ६ नम्बरमा आउँदा रेग्मीले विजयी भएका हुन्। सो वडामा अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ।  

उपप्रमुखमा पनि एमालेकी विमला तामाङले ७७१ मतान्तरले नेकपा (माओवादी केन्द्र)की सुविता लामालाई पराजित गरेकी छन्। तमाङले १० हजार ४४० मत ल्याउँदा उहाँकी प्रतिस्पर्धी लामाले ९ हजार ६८८ मत प्राप्त गरेकी छन्। ११ वडामध्ये कांग्रेसले ५, एमालेले ४ र माओावदी केन्द्रले २ वडामा अध्यक्ष जितेको छ। 

कांग्रेसबाट वडा नम्बर १मा सन्तबहादुर स्याङताङ, ५ दिपक बहादुर भट्टराई, ६मा टिकाराम रेग्मी, ७ मा कमलराज मुक्त्तान, र  १० नम्बर वडामा नरजंग प्रजा विजयी भएका छन्।  त्यस्तै एमालेबाट वडा नम्बर २मा  लक्ष्मण पौडेल, ४मा मकरमान श्रेष्ठ, ९मा निलकण्ठ मगर र ११मा कृष्ण प्रजा विजयी भएका छन्। नेकपा (माओवादी केन्द्र)बाट वडा नम्बर ३मा विरेन्द्र तामाङ र वडा नम्बर ८मा चित्रबहादुर मगर वडाध्यक्षमा विजयी भएका छन्।  

कालिकामा नेपाली कांग्रेस अघिल्लो निर्वाचनमा भन्दा कमजोर बनेको  छ। २०७४को निर्वाचनमा २२ जनप्रतिनिधि जितेको कांग्रेसले अहिले कालिकामा १४ जनप्रतिनिधि मात्र जितेको छ।  एमालेका प्रमुख, उपप्रमुख सहित ३६ प्रतिनिधि निर्वाचित भएका छन्। यसअघि एमालेका ३५ प्रतिनिधि थिए। अघिल्लो निर्वाचनमा शुन्य प्रतिनिधि नेकपा (माओवादी केन्द्र)का अहिले २ वडाध्यक्ष सहित ५ जनाप्रतिनिधि निर्वाचित भएका छन्। कालिका नगरपालिकामा निर्वाचित भएर ५७ आउने गर्दछन्। कालिका नगरपालिकामा २४ हजार ३ सय ५० मत खसेको थियो।  

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका कमल आचार्यले प्रमुख पदमा ७ हजार १६४ ल्याएका थिए भने, नेकपा  एमालेका खुमनारायण श्रेष्ठले ७ हजार ४९४ मत प्राप्त गरेका थिए। त्यस्तै नेकपा (माओवादी केन्द्रले पनि २ हजार ३७४ मत प्राप्त गरेको थियो।

प्रकाशित: ४ जेष्ठ २०७९ ०९:३१ बुधबार