निर्वाचन विशेष

माधव नेपालको गृहपालिकामा नेकपा एकीकृत समाजवादीका 'बागी'ले मारे बाजी

नेकपा एकीकृत समाजवादीका राष्ट्रिय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृहपालिकाको एउटा वडामा नेकपा एकीकृत समाजवादी कै बागी उम्मेदवारले बाजी मारेका छन्। उनको गृहपालिका गौर नगरपालिका ५ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट बागी उम्मेदवारले जित हाँसिल गरेका हुन्।

नेकपा एकीकृत समाजवादीले वडाध्यक्षको टिकट नदिएपछि शिवशंकर राययादव स्वतन्त्र उम्मेदवार बनेका थिए। स्वतन्त्र कै हैसियतमा नेकपा  एकीकृत समाजवादीका बागी उम्मेदवार यादवले वडाध्यक्षमा जित हाँसिल गरेका हुन्।

यादवले ४७६ मत प्राप्त गर्दै जित हाँसिल गरेका हुन् भने निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालले ४४७ तथा नेकपा एसले ४३१ म्तप्राप्त गरेका छन्। अत्यन्तै कडा प्रतिस्पर्धाबीच बागी उम्मेदवारले  जित निकालेको रौतहटमा यो पहिलो घटना हो।

आफूले जनताको विश्वास जित्ने काम निरन्तर गरिरहेकाले वडाध्यक्षमा आफूलाई जनताले विश्वास गरेको यादवले प्रतिक्रिया दिएका छन्।

प्रकाशित: ३ जेष्ठ २०७९ १२:२९ मंगलबार