स्थानीयतह निर्वाचनमा उदयपुरका थप ३ पालिकाको नतिजा सार्वजनिक भएको छ। पछिल्लो नतिजा अनुसार ताप्ली गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष उम्मेदवार ढुंगराजले विकले जितेसँगै उदयपुरगढी र रौतामाई गाउँपालिकामा गठबन्धनले विजयी हासिल गरेको छ।
उनले ताप्ली गाउँपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार दिएका थिए। एमालेका बाबुराम राईभन्दा ४७ मतान्तरले विजयी विकलाई १ हजार ७ सय ८७ मत परेको छ भने निकटम प्रतिद्वन्द्वी राईलाई १ हजार ७ सय ४९ मत प्राप्त भएको छ। विक जिल्लाका ८ स्थानीयतहमध्ये अध्यक्षमा एक मात्र दलित उम्मेदवार थिए। माओवादी सशस्त्र द्वन्द्वकालीन नेता विक पार्टीको प्रदेश कमिटी सदस्य तथा गाउँ कमिटी इन्चार्जसमेत हुन्।
ताप्लीको उपाध्यक्षमा गठबन्धनकै तर्फबाट काँग्रेसकी धनमाया मगर विजयी भएकी छिन्। उनले २ हजार ५ सय ८६ मत ल्याएर निकटम प्रतिद्वन्द्वी मनकुमारी थापालाई पराजित गरेकी हुन्। एमालेबाट उपाध्यक्षकी प्रत्यासी थापालाई १ हजार ३ सय ६ मत प्राप्त भएको छ।
त्यसैगरी रौतामाई गाउँपालिकामा गठबन्धनकै वीरेन्द्र मगर अध्यक्ष र भुपेन्द्र थापा उपाध्यक्ष जितेका छन्। माओबादीका मगरले ४ हजार १ सय ८८ मत ल्याएर विजयी हुँदा काँग्रेसका थापाले ३ हजार ६ सय ९९ मत हासिल गरेका छन्। अध्यक्षका निकटम प्रतिद्वन्द्वी एमालेका भरत थापालाई ३ हजार ३ सय ४६ मत आउँदा एमालेकै उपाध्यक्षकी प्रत्यासी कुमारी ज्युठकुरीले ३ हजार ९३ मत पाएकी छिन्।
उता उदयपुरगढी गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार नेकपा (एकीकृत समाजबादी)का मानबहादुर केप्छाकी मगर र उपाध्यक्षका काँग्रेसका जितबहादुर खड्का विजयी भएका छन्। निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गोपाल खत्रीभन्दा ८ सय २८ मतले विजयी मगरले ४ हजार ९ सय ४२ मत पाएका छन् भने खत्रीलाई ४ हजार १ सय १४ मत परेको छ। उपाध्यक्ष विजयी खड्कालाई ४ हजार ६ सय ४८ मत पर्दा एमालेकी शोभाकुमारी मगरलाई ३ हजार ८ सय ६३ मत परेको छ।
यो नतिजा आएसँगै ४ नगर र ४ गाउँपालिका रहेको उदयपुृरमा गाउँपालिकातर्फको परिणाम आईसकेको छ। चौदण्डीगढी र बेलका नगरपालिकाको मत परिणाम अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। पछिल्लो परिणाम अनुसार बेलका नगरपालिकामा गठबन्धनकै मेयरका उम्मेदवार अशोक कार्कीले झण्डै २ हजार मतान्तरले अग्रता लिईरहेका छन्। उनको मत ५ हजार ९ सय ३ आईरहदा एमालेका दुर्गाकुमार थापालाई ४ हजार ६१ मत परिरहेको छ। उपमेयरमा भने माओबादीका मनोज तामाङ र एमालेकी जिरा राईलाई समान ४ हजार ५ सय १० मत परिरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
अर्को नगरपालिका चौदण्डीगढीमा एमालेले १ हजार २ सय बढी मतान्तले काँग्रेसलाई उछिनिरहेको छ। एमालेका कालुमान लामाले ५ हजार ७ सय ६५ मत काँग्रेसका खगेन्द्र राईलाई ४ हजार ८ सय १० मत परिरहेको छ।
उपमेयरमा एमालेकै मणिका दुलालले ५ हजार ९ सय ९३ ल्याईरहदा काँग्रेसकी रीताकुमारी चौधरीलाई ४ हजार ५ सय ७९ मत परिहेको छ। काँग्रेस एक्लै लडेको चौदण्डीगढीमा गठबन्धनबाट एकीकृत समाजबादीका नरेन्द्र राउतले मेयरमा १ हजार ५ सय ७९ मत पाईरहेका छन् भने उपमेयरमा माओबादीकी हिरा थापा तिम्सीनाले २ हजार ७ सय १६ मत पाईरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
जिल्लाका त्रियुगा र कटारी नगरपालिकाको मत गणना भने हुन सकेको छैन। त्रियुगा १२ नं. वडामा मतदान अधिकृतले धाँदली गरेको भन्दै तोडफोड भएपछि चुनाव रोकिएकोमा अहिलेसम्म सुचारु हुन सकेको छैन। कटारीको १० नं. वडामा सुरक्षाकर्मीको गोली प्रहारबाट स्थानीय युवाको निधन भएपछि गणना हुन सकेको छैन। स्थानीय कालिका मावि सोरुङ मतदान केन्द्रमा शुक्रबार मतदान सकिएपछि बिबाद हुँदा प्रहरीले प्रहार गरेको गोली लागेर १८ वर्षीय नविन भन्ने वीरबहादुर कटुवालको घट्नास्थलमै ज्यान गएको थियो।
आईतबारसम्म घट्नास्थलमै रहेको कटुवालको शव सर्वदलीय सहमतिपछि उठाएर कटारी अस्पतालमा पोष्टमार्टम गरी ४ दिनपछि सोमबार अन्त्यष्टि गरिएको छ। शव अन्त्यष्टिपछि मतगणना गर्ने भनिए पनि सोमबार दिनभर बसेको सर्वपक्षीय बैठकले घट्नाको निश्पक्ष र स्वतन्त्र छानविन समिति गठन गरेपछि मात्र गणना गर्ने सहमति भएको बैठकमा सहभागी इलाका प्रहरी कार्यालय कटारीका डिएसपी मानबहादुर राईले बताए।
क्याप्सनः ताप्लीमा निर्वाचित अध्यक्ष ढुंगराज विक शुभेच्छुकसँग। तस्विरः महेश्वर
प्रकाशित: ३ जेष्ठ २०७९ ०६:५५ मंगलबार