निर्वाचन विशेष

नुवाकोटको ५ स्थानीय तहको मतगणना सकियो, ४ वटाको अध्यक्षमा नेपाली कांग्रेस विजयी

नुवाकोटको ५ वटा स्थानीय तहको मतगणना सकिएको छ। मतगणना सकिएको स्थानीय तहहरुमा तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका, किस्पाङ गाउँपालिका  र सूर्यगढी गाउँपालिका रहेको छ। 

ती मध्ये  तादी गाउँपालिका र  तारकेश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। म्यागङ गाउँपालिका र सूर्यगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नै नेपाली कांग्रेसले जितेको छ। त्यस्तै किस्पाङ गाउँपालिकामा नेकपा (एमाले) अध्यक्षमा र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ।  

तादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सन्तमान तामाङ, उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्रकी सञ्जु प्याकुरेल, तारकेश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका शिव अधिकारी, उपाध्यक्षमा माओवादी केन्द्रका हरिप्रसाद रिमाल, किस्पाङ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का बिरबल तामाङ, उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का अर्जुन न्यौपाने विजयी भएका छन्।  

त्यस्तै नेपाली कांग्रेसबाट म्यागङ गाउँपालिकाको अध्यक्षमा आशा तामाङ, उपाध्यक्षमा सीता तामाङ र सूर्यगढी गाउँपालिकाको अध्यक्षमा सन्तबहादुर घले र उपाध्यक्षमा मञ्जु बुढाथोकी विजयी भएका छन्। तारकेश्वर गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बिच गठबन्धन रहेको थियो भने किस्पाङ गाउँपालिकामा नेकपा (एमाले र नेकपा (माओवादी केन्द्र) बिच गठबन्धन रहेको थियो।  

किस्पाङ गाउँपालिकाको अध्यक्षमा विजयी भएका नेकपा एमालेका बिरबल तामाङले ३ हजार ६ सय ३८ मत र उनको निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका छत्र लामाल ३ हजार ४ सय ५२ मत प्राप्त गरेका थिए। त्यस्तै उपाध्यक्षमा विजयी भएका अर्जुन न्यौपानेले ३ हजार ७ सय १२ मत गरेका छन् भने उनको  प्रतिस्पर्धी नेपाली काँग्रेसका दिलकुमारी मोक्तानले ३ हजार १ सय ७७ मत प्राप्त गरेकी छिन्। सुर्यगढी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र म्यागङ गाउँपालिकाको अध्यक्ष दोश्रो कार्यकालको लागि विजयी भएका हुन्।

प्रकाशित: ३ जेष्ठ २०७९ ०६:१३ मंगलबार