निर्वाचन विशेष

दुई पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

कालिकोटको सदरमुकामको खाँडाचक्र नगरपालिकामा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका एकीकृत समाजवादीका नेता कमलबहादुर शाही विजयी भएका छन्।

५ दलीय गठबन्धनले नेपाली कांग्रेसलाई नगर प्रमुखमा भाग दिएपछि दलीय ह्वीप नमान्ने अडानसहित उनले नगर प्रमुखमा उम्मेदवारी दिएका थिए। माओवादी केन्द्रसहित साविको दाहा र पाखाका सबैजसो वडामा कांग्रेस,माओवादी केन्द्र,राप्रपा,राष्ट्रिय जनमोर्चासँग साझा उम्मेदवारको रूपमा चर्चामा रहेका शाहीले एमालेका जिल्ला अध्यक्ष तथा खाडाचक्रका निवर्तमान नगरप्रमुख जसीप्रसाद पाण्डेलाई ३ सय १० मतले पछि पार्दै विजयी भएका हुन्।

शाहीले एकीकृत समाजवादीले टिकट नदिएपछि स्वतन्त्रमा उम्मेदवारी दर्ता गरेका थिए। २ हजार ९ सय १९ मत ल्याई उनी नगर प्रमुखमा विजयी भए। ‘चुनाव नसोचेकै हुँदो रहेछ‚’ नगर प्रमुखमा विजयी शाहीले भने‚ ‘२० वर्षदेखि जनताको सेवामा लागेको फल बल्ल पाइयो।’ खाडाचक्रको शिक्षा, पूर्वाधार विकास, गरिबी र भोकमरी अन्त्य,युवा स्वरोजगारी उनको प्राथमिकता छ। एमालेको राम्रो जनाधार मानिने खाँडाचक्रमा २ वटा वडा कांग्रेस, २ वटा एकीकृत समाजवादी र ६ वटा वडा माओवादीको पोल्टोमा परेको छ।  

यसैगरी यहाँको शान्नित्रिवेणी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रले शिक्षकको जागिर छाडेर जनयुद्धमा होमिएका मुम्राका मोहनबहादुर केसी महेशलाई टिकट नदिएपछि स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएपछी निर्वाचन आयोगले पुतली चुनाव चिह्न प्रदान गरेको थियो।

गठबन्धनले माओवादी केन्द्रलाई पालिका अध्यक्ष र एकीकृत समाजवादीलाई उपाध्यक्षको भाग दिएपनि उनले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका थिए। स्वतन्त्रमा उम्मेदवारी दता गराएका मोहनबहादुर केसी महेशलले  १ हजार ८ सय २२ मत ल्याएर विजयी भएका हुन्। केसीका प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्मरबहादुर शाहीले १ हजार ३ सय २५ मत पाएका छन्। त्यस्तै उपाध्यक्षमा एमालेकी पार्वती सिँहले १ हजार ६ सय ८१ मत ल्याएर विजयी भएकी छन् भने उनकी प्रतिद्वन्द्वी कांग्रेसकी पशुबिना बमले १ हजार २ सय २२ मत पाएकी छन्।

यस्तै शुभकालिका गाउँपालिका एकीकृत समाजवादीको भागमा परेपछि माओवादी केन्द्रका गोविन्दप्रसाद आचार्यले नेपाली कांग्रेसका धर्मा शाहीलाई उपाध्यक्ष दिएर गठबन्धन गरे । एमाले र समाजवादी छुट्टाछुटै प्रतिस्पर्धामा उत्रिए।

पार्टी विभाजन नहुँदासम्म एमालेको किल्ला मानिने शुभाकालिका समाजवादी र एमालेका दुई अध्यक्ष लड्दा पराजित भए। आचार्यले काग्रेससँग गठबन्धन गरेर २ हजार ४ सय ९ मत ल्याए भने एकीकृत समाजवादीका पुष्पराज आचार्यले १ हजार ५ सय ९५ र एमालेका भरतराज धितालले १ हजार ५ सय मत ल्याएर पराजय भोगे। उपाध्यक्षमा पनि गठबन्धनको तर्फबाट कांग्रेसकी धर्मा शाहीले २ हजार ३४ मत पाएर विजयी भएकी छन्।

प्रकाशित: ३ जेष्ठ २०७९ ०३:३४ मंगलबार