निर्वाचन विशेष

डोटीको पूर्वीचौकी गाउँपालिकामा कांग्रेसको 'क्लिनस्विप'

डोटीको पूर्विचौकी गाउँपालिकामा कांग्रेसले क्लिनस्विप गरेको छ। अध्यक्ष, उपाध्यक्षसहित सातवटै वडाध्यक्ष र सबै वडासदस्य पदमा कांग्रेसका उम्मेदवारहरू विजयी भएका हुन्।  

अध्यक्षमा कांग्रेस उम्मेदवार रामप्रसाद उपाध्यायले ५ हजार १३३ मत प्राप्त गरे। जुन सदर मतमा पनि ६७ दशमलव ५६ प्रतिशत हो। यहाँ कूल ८ हजार २५६ मत खसेको थियो। जसमध्ये ७ हजार ५९७ मत सदर भएको छ। अध्यक्षमा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णकुमार खड्काले २ हजार २०५ मत मात्रै प्राप्त गरे।  

यस्तै उपाध्यक्षमा पनि कांग्रेसक पशुपति खड्काले ४ हजार ७२४ मत हासिल गरेर विजयी भइन्। उनका प्रतिद्वन्द्वी एमालेकी शारदाकुमारी साउँदले दुई हजार ४४४ मत प्राप्त गरिन्।  

वडाध्यक्षहरूमा कांग्रेसकै उम्मेदवारहरू १ नम्बर वडामा अंकवहादुर खड्का, २ नम्बरमा योगेन्द्रवहादुर ठकुल्ला, ३ नम्बरमा खड्कबहादुर धामी, ४ नम्बर वडामा बलबहादुर खड्का, ५ नम्बरमा खड्कबहादुर साउँद, ६ नम्बरमा पुष्पराज जोशी र ७ नम्बर वडामा प्रेमबहादुर खड्काको प्यानसहित नै विजयी भएका छन्।  

यसअघि २०७४ को निर्वाचनमा यो पालिकामा कांग्रेस अध्यक्ष उम्मेदवार उपाध्याय एमालेका दीर्घराज बोगटीसँग पराजित भएका थिए। उतिबेला कांग्रेसले ५ वटा वडाध्यक्ष जित्दा पनि गाउँपालिका अध्यक्ष उपाध्यक्ष हारेको थियो।

प्रकाशित: २ जेष्ठ २०७९ १०:४५ सोमबार