निर्वाचन विशेष

भक्तपुरमा डा. सुवाल वडाध्यक्षमा विजयी

राजनीति गर्ने व्यक्तिहरूले धेरै पढेलेखेका हुँंदैनन् भन्ने नेपाली मान्यतालाई गलत सावित गरिदिएका छन् भक्तपुर नगरपालिका वडा नं ६ मा नवनिर्वाचित वडाध्यक्ष डा. हरिराम सुवालले। पिएचडी गरेका उनी राजनीतिमा लामो समयदेखि सक्रिय छन् र त्यही कारण अहिले उनी वडाध्यक्षमा निर्वाचित हुन सफल भएका हुन्।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को तर्फबाट भक्तपुर नगरपालिका वडा नं ६ मा उम्मेदवारी दिई उनले विजयी हासिल गर्न सफल भएका हुन्। उनी यसअघि पनि सोही पार्टीबाट सोही वडाको अध्यक्षमा निर्वाचित भएका थिए। उनको योग्यताको कदर गर्दै पार्टीले उनलाई फेरि पनि वडाध्यक्षमा उम्मेदवारी दिन लगाएको हो र उनी पुनः विजयी हात पार्न सफल भएका हुन्।

डा. सुवालको वडामा उनी मात्रै नभई उनको समूहका सबै विजयी भएको हो। उनको टिमले अत्याधिक बहुमतले विजयी हासिल गर्न सफल भएको हो। डा. सुवालको मत तीन हजार बढी आएको छ भने उनको निकतम प्रतिद्वन्द्वीको मत तीन सयमा सीमित छ। वडाध्यक्ष डा सुवालले तीन हजार दुई सय २९ मत पाएका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका भूपेन्द्रप्रसाद नेपालीले तीन सय २२ मत पाएका छन्।

डा. सुवाल डा आफैं मात्रै बलियो अनि सक्षम उम्मेदवार होइन, अनुभव र उमेरका हिसावले उनका वडा सदस्य उनीभन्दा पाको छन्। उनको टिममा नेमकिपाका पुराना नेता (पार्टी अध्यक्ष नागरायणमा विजुक्छेंभन्दा नि पुरानो) गोविन्द दुवाल समेत वडा सदस्यमा विजयी भएका छन्।

दुवाल नेमकिपाको तर्फबाट भक्तपुरका पूर्व राष्टिय पञ्चायत (पञ्चायतकालमा अहिलेको संसद् सदस्य जस्तो) सदस्य हुन्। नेपालबाट पञ्चायत कालमा नेमकिपाबाट दुवाल नै पञ्चायत सदस्यमा उम्मेदवारी दिई विजयी हुन्थे। नेपालमा प्रजातन्त्र पुनःस्थापनापछि मात्र पार्टी अध्यक्ष विजुक्छे उम्मेदवारी दिई संसद् सदस्यमा प्रतिनिधित्व गर्दै आएका हुन्।

पछिल्लो समय नेपाली राजनीतिमा देश हाँक्ने नेता र मन्त्रीहरूको योग्यताको कुरा उठिरहेको बेला डा. सुवाल उदाहरण बन्न सफल भएका हुन्। बोल्ने धेरै तर शैक्षिक योग्यता भने प्रायः १० कक्षाको हाराहारी भएको हुन्छ नेताको भन्ने नेपाली मानसिकतालाई गलत सावित गरिदिएका हुन् डा. सुवालले।

डा. सुवालले विद्यावारिधि गर्ने नेपालकै पहिलो वडाध्यक्षको रूपमा रेकर्ड राख्न सफल भएको बताइन्छ। त्यति मात्रै नभई डा.सुवाल अहिलेसम्मकै सबैभन्दा बढी पढ्ने वडाध्यक्षको रूपमा समेत दरिएको अनुमान छ। उनले त्रिभुवन विश्वविद्यालयबाटै तीन वटा विषयमा प्रवीणता प्रमाणपत्र तह, तीन वटा विषयमा स्नातक र दुई वटा विषयमा स्नातकोत्तर गरेका छन्।

भक्तपुरको ब्यासीस्थित वासु माविबाट २०५० सालमा प्रथम श्रेणीमा एसएलसी गरेका चोछें भक्तपुरका वडाध्यक्ष डा.सुवालले विद्यावारिधि मात्रै गरेका छैनन्, उनले पोलिटिकल साइन्स र इतिहास गरी दुई वटा विषयमा स्नातकोत्तर गरेका हुन्। साथै शिक्षा, कानून र मानविकी गरी तीन वटा विषयमा स्नातक तथा मानविकी, वाणिज्य र कानुन गरी तीन वटा विषयमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन्। डा.सुवाल काठमाडौं मल्टिपल कलेज मरुहिटीबाट कानुनमा प्रमाणपत्र तहमा सर्वाेत्कृष्ट कलेज टपर समेत भएका थिए।

वडाध्यक्ष डा.सुवालले त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबाट ‘भक्तपुर नगरका ज्यापू जातिका नेवारहरूको लोकसंस्कृति सम्बन्धी ऐतिहासिक अध्ययन’ विषयमा विद्यावारिधि गरेका थिए।

डा. सुवाल अहिलेदेखि राजनीतिमा सक्रिय होइन, उहिलेदेखि नै सक्रिय छन्। उनी पार्टीको जनवर्गीय संगठन ‘नेपाल क्रान्तिकारी किसान संगठन’ को केन्द्रीय सचिव पनि हुन्। विद्यावारिधि उत्तीर्ण गरेसँगै डा.सुवाल नेमकिपामा धेरै विषय अध्ययन गर्ने नेता समेत बनेका छन्।

बाबु कृष्णनारायण र आमा विष्णु सुवालका दुई छोरामध्ये कान्छा छोराको रूपमा २०३४ साल मंसिर ९ गते चोछें भक्तपुरमा जन्मेका डा.सुवालका ३ दिदीबहिनी छन्। पार्टीले भक्तपुरमा झन्डै २० वर्षअघि लागू गरेको ‘एक घर, एक स्नातक’ को अवधारणा अनुसार पछिल्लो समयमा भक्तपुर नगर क्षेत्रमा कम्तीमा स्नातक तह उत्तीर्ण  गर्ने शिक्षित युवा बढिरहेको छ भने उच्च शिक्षा (स्नाकोत्तर तह) पढ्नेहरूको उल्लेख्य रूपमा बढिरहेको छ।

प्रकाशित: २ जेष्ठ २०७९ ०४:३३ सोमबार

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) नवनिर्वाचित वडाध्यक्ष डा. हरिराम सुवाल