निर्वाचन विशेष

सुदूरको नजिताः कांग्रेस र एमाले दुई-दुई, माओवादी एक ठाउँमा विजयी

सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तह मध्ये अहिलेसम्म ५ वटा स्थानीय तहमा मत गणना सम्पन्न भएका छन्। सम्पन्न भएका स्थानीय तहमा नेपाली कांग्रेसले दुई, नेकपा एमालेले दुई र नेकपा माओवादी (केन्द्र) ले एक स्थानीय तहमा जित हात पारेका छन्।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा इन्द्र कार्की र उपाध्यक्षमा ज्ञानु सेठी विजयी भएका हुन्।

कार्कीले ३ हजार १ सय ८४ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस विपीका उम्मेदवार सुरेन्द्रबहादुर मालीले १ हजार ६ सय ५ मत पाए। यस्तै गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै सेठीले ३ हजार १३ मत पाइन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रबहादुर महराले १ हजार ७ सय ३ मत पाए। यहाँ कांग्रेस विपी र नेकपा एमालेले गठबन्धन गरी नेपाली कांग्रेससँग प्रतिस्पर्धा गरेको थियो।

डोटीको बडिकेदार गाउँपालिकामा पनि नेपाली कांग्रेसले विजयी हात पारेको छ। यहाँ अध्यक्षमा नेपाली कांग्रेसका भैरवबहादुर साउँद र उपाध्यक्षमा डम्मरीकुमारी विष्ट विजयी भएका हुन्। साउँदले २ हजार ३ सय ४३ मत ल्याउँदै जित हासिल गरेका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका चक्रबहादुर घर्तीमगरले एक हजार ६ सय ८४ मत पाए। उपाध्यक्षमा कांग्रेसकी विष्टले दुई हजार चार सय ७ मत ल्याउँदा उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी सपना सिराडीले दुई हजार दुई सय ७६ मत पाएकी थिइन्।

यस्तै, बझाङका दुई स्थानीय तहमा नेकपा एमालेले जित हात पारेको छ। बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन्, उनी दुई हजार सात सय ७४ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका छन्।  रोकायाका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार कुलराज जोशीले २ हजार १ सय १३ मत पाएका थिए।

यस्तै उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राम खाती विजयी भएका छन्। खातीले ३ हजार १ सय ५० मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मीरादेवी रावलले २ हजार ५ सय ८७ मत पाएकी थिइन्।

यस्तै बझाङकै साइपाल गाउँपालिकामा एमालेका उम्मेदवार मानबहादुर बोहराले ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भए भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका उज्वल बोहराले ६ सय १३ मत ल्याएका थिए। गाउँपालिका उपाध्यक्षतर्फ नेकपा एमालेका डोल्मा तामाङले ६ सय ७५ मतसहित विजयी भएकी छिन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी बाटु बोहराले ६ सय १९ मतसहित पराजित भइन्।

यस्तै अहिलेसम्म मतगणना सम्पन्न भएको दार्चुलाको अपी हिमाल गाउँपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी (केन्द्र) का उम्मेदवार भगतसिंह ठेकरे (बोहरा) र उपाध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी देवकीदेवी बोहरा निर्वाचित भएका छन्।

ठेकरेले २ हजार ३ सय ४ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार धर्मानन्द मन्यालले १ हजार ३ सय ८५ मत पाएका थिए। यस्तै उपाध्यक्षमा बोहराले २ हजार २७ मत ल्याएकी थिइन् भने प्रतिद्वन्द्वी एमालेकी उर्मिला बोहराले १ हजार ३ सय ९१ मत ल्याएर पराजित भइन्।

प्रकाशित: १ जेष्ठ २०७९ १०:१६ आइतबार