निर्वाचन विशेष

कैलालीका तीन पालिकामा नागरिक उन्मुक्तिको अग्रता

कैलालीका तीन वटा पालिकामा हालसम्मको मत गणना अनुसार नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। सो पार्टीले टीकापुर र भजनी नगरपालिकाका साथै जोशीपुर गाउँपालिकामा अग्रता लिएको हो।

उसले टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाको एकएक वडामा जित समेत हात पारिसकेको छ। टीकापुरको वडा नं. ५ र जोशीपुरको वडा नं. १ मा जित हात पारेको हो। टीकापुर नगरपालिकाको वडा नं. ३ मा भने कांग्रेसका ऋषी विश्वकर्मा वडाध्यक्ष निर्वाचित भएका छन्।

टीकापुर नगरपालिकामा वडा नम्बर ३ र ५ को मत गणना सकिएसँगै मेयरमा नागरिक उन्मुक्तिका रामलाल डगौरा थारुको १ हजार ४४५, गठबन्धनका तर्फबाट कांग्रेसका नवराज रावलको ९८३ र एमालेका श्याम खत्रीको ७८५ मत पुगेको छ।

त्यस्तै उपमेयरमा नागरिक उन्मुक्तिका उल्कादेवी विकको १ हजार ३६१, गठनबन्धनका तर्फबाट माओवादी केन्द्रका खडक शाहको १ हजार २१० र एमालेका उपमा केसीको ६४८ मत पुगेको छ। नागरिक उन्मुक्तिले जोशीपुर गाउँपालिकाको वडा नम्बर १ मापूरै प्यानल जितेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

वडाध्यक्षमा ७७३ मत प्राप्त गरेररामचन्द्र चौधरी विजयी भएका छन्। जोशीपुरको २ हजार ७९२ मत गणना हुँदा नागरिक उन्मुक्तिका अध्यक्षका उम्मेदवार चित्रबहादुर चौधरीले ७६४ र उपाध्यक्षका उम्मेदवार रेखादेवी कठरीयाले ७७८ मत प्राप्त गरेका छन्। जोशीपुरमा नागरिक उन्मुक्तिलाई राप्रपाले पछ्याइरहेको छ।

राप्रपाका अध्यक्षका उम्मेदवार भीमबहादुर बमले ६९९ मत पाएकाछन्। त्यस्तै कांग्रेसका उम्मेदवार बन्सराम बडायकको ४८४ र एमालेका उम्मेदवार केसर बहादुर डगौराको १८९ मत रहेको छ। उपाध्यक्षमा भने कांग्रेसले ५४८ मतसहित दोस्रो स्थानमा राखेको छ।

उता भजनी नगरपालिकामा नागरिक उन्मुक्तिले अग्रता लिए पनि एमालेले नजिकबाट पछ्याइरहेको छ। भजनीको मेयरमा नागरिक उन्मुक्तिले ८१२ मतका साथ अग्रता लिएको भने एमालेले ८०२ मत प्राप्त गरेको छ। अहिलेसम्म माओवादी केन्द्रले भने ७२० मत पाएको छ। उपमेयरमा भने एमालेले ८४१ मतका साथ अग्रता लिएको छ।

उपमेयरमा नागरिक उन्मुक्तिको ६९६ र कांग्रेसका ५४७ मत रहेको छ। भजनीमा अहिलेसम्म २ हजार ९२८ मत गणना भएको छ। यता जानकी गाउँपालिकामा भने नागरिक उन्मुक्तिले सत्ता गठबन्धनसँग कडा प्रतिस्पर्धा गरिरहेको छ। अहिलेजानकी गाउँपालिकाका वडा नं. ८ र ९ को मत गणना भैरहेको छ। कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवारले अग्रता लिएका छन्।

२०७२ भदौको टीकापुर घटनालाई राजनीतिक मुद्दा बनाउनु पर्ने मागसहित यही पुष महिनामा मात्रै निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्तिले थारु समुदायको मतलाई आफ्नो पक्षमा पार्न सफल भएको छ। सो पार्टीले चुनाव प्रचारका क्रममा टीकापुर घटनामा दोषी ठहर भइ हाल जेलमा रहेका निलम्वित सांसद रेशमलाल चौधरीको मुद्दालाई अघि सारेको थियो।

उनकै श्रीमती रञ्जिता श्रेष्ठ चौधरी पार्टीको केन्द्रीय अध्यक्ष हुन्। उनी चुनावका क्रममा आफ्नो श्रीमानलाई न्याय दिन एक मत भन्दै गाउँ गाउँ पुगेकी थिइन्। जसका कारण थारु समुदायको सहानभूति नागरिक उन्मुक्ति पार्टीसँग जोडिएको छ।

प्रकाशित: १ जेष्ठ २०७९ ०७:२५ आइतबार

कैलाली नागरिक उन्मुक्ति पार्टी