ग्राहक विशेष

नेपालीमा बढ्दो अध्ययनशैली, फस्टाउँदै पुस्तकको किनबेच

अझै पनि बन्न सकेन नेपालमा किताब नीति

कुनै पनि देश कति विकसित तथा जागरुक छ र नयाँ कुराप्रति कति उत्साहित छ भन्ने थाहा पाउने एउटा माध्यम पुस्तक प्रकाशन हो। अहिले ज्ञान लिने अनेक माध्यम उपलब्ध भए पनि संसारलाई यसप्रतिको चाह घटेको छैन। युनेस्कोले जारी गरेको सन् २०२३ को तथ्यांकअनुसार संसारभर १३८.३५ अर्ब डलरको किताब किनबेच भएको थियो। सन् २०३० सम्म किताबको बजार करिब २ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।

पहिले पुस्तकको व्यापार मुद्रित किताबमा मात्र सीमित थियो, अहिले मुद्रितसँगै ई–बुक र अडियो बुकमा विस्तार हुँदै जान थालेको छ। यो विस्तारमा अमेरिका सबैभन्दा अगाडि रहेको युनेस्कोले सन् २०२३ मा गरेको सर्भेले देखाएको छ। ३० अर्ब डलर बराबरको बजारका साथ किताब बेच्नेमा अमेरिका सबैभन्दा अगाडि छ। २५ अर्बको व्यापारका साथ चीन दोस्रोमा छ। यसपछि युरोपले सबैभन्दा बढी पुस्तक पढ्ने गर्छ। युरोपले वार्षिक ४० अर्ब डलरभन्दा बढीको किताब बेचिरहेको छ।

सबैभन्दा तीव्र गतिमा किताब व्यापार बढाइरहेका मुलुकमध्ये भारत एक हो। उसले १० अर्ब डलरबराबरको किताब हरेक वर्ष बेचिरहेको छ र यो हरेक वर्ष बढ्दो क्रममा छ। पुस्तक बजार विस्तारमा पछिल्लो समय अडियो बुक र ई–बुकले पनि भूमिका खेलिरहेका छन्। सन् २०२३ मा डिजिटल पुस्तक बजार हिस्सा १५ प्रतिशत थियो। यो भनेको ५.३ अर्ब डलरभन्दा बढी हो। धेरैजसो डिजिटल र अडियो बुक अमेरिकामा पढिने तथ्यांक छ।

कसले सबैभन्दा बढी किताब छापिरहेको छ भन्ने मापन गर्ने एउटा माध्यम आइएसबिएन पनि हो। यो अन्तर्राष्ट्रिय पुस्तक नम्बर हो। अमेरिकाले सबैभन्दा बढी आइएसबिएन जारी गर्ने गरेको देखिन्छ। जापान दोस्रो नम्बरमा छ। दक्षिण कोरिया पनि पुस्तक प्रकाशनमा अगाडि बढ्दै छ।

भनिन्छ, यहाँ ७५ हजारभन्दा बढी प्रकाशक छन्। यिनले वार्षिक ३० हजारभन्दा बढी शीर्षकका पुस्तक प्रकाशन गर्ने गरेका छन्। कोरियालीले आफूलाई सबैभन्दा धेरै प्रकाशकहरू भएको मुलुकका रूपमा चिनाउँदै आएको अन्तर्राष्ट्रिय प्रकाशक संघ (आइपिए) को भनाइ छ।

किताब प्रकाशन उद्योग अझै पनि ठुला अर्थतन्त्रमध्ये एक हो। मुद्रित पुस्तकको माग यथावत् भए पनि डिजिटल प्रविधिले यसलाई नयाँ स्वरूपमा लैजाँदै छ। विशेष गरी ई–बुक्स, अडियो बुक्स र सेल्फ–पब्लिसिङ जस्ता प्रविधिले यो उद्योगको स्वरूप परिवर्तन गरिरहेका छन्। किताब पहिले ज्ञानको स्रोत थियो। अहिले यो करोडौं डलरको उद्योगमा पनि परिणत भइसकेको छ।

किताबले ज्ञान मात्र नदिई, एउटा यस्तो चक्रीय उद्योग चलाउँछ कि जसले करोडौंलाई रोजगारी दिइरहेको छ। नेपालमा पुस्तक राम्रोसँग बिक्री भयो भने के हुन्छ भन्ने उदाहरण उपन्यासकार सुविन भट्टराई र कुमार नगरकोटी छन्। भट्टराईलाई निजी गाडीमा हुइँकिन पुस्तकको व्यापारले नै सम्भव बनाएको छ। उता नगरकोटीले लामो समयदेखि कुनै जागिर खाएका छैनन्।

कोभिड महामारीका बेला सबै व्यापार ठप्प भइरहेका बेला पाठकहरू केही नयाँ पढ्न छटपटाइरहेका थिए। ठीक यही बेला सुविन भट्टराईको ‘इजोरिया’ बजारमा आयो। यो पुस्तक त्यो बेलाको बेस्टसेलर बन्न पुग्यो। एक महिनाभित्र नै किताबकिरोका तारानिधि रेग्मीले यो उपन्यास नौ हजार प्रति बिक्री गरे।

रेग्मी भन्छन्, ‘त्यो बेला मेरा बुवा बिरामी भएर उपचारका लागि काठमाडौं आउनुभएको थियो। त्यस्तो अप्ठेरो बेला इजोरिया मेरा लागि उद्धारकर्ता बनेर आइपुग्यो। बुवाको सम्पूर्ण उपचार यही किताब बेचेर गरें।’ तर सबै किताबको भाग्य सुविनको उपन्यासको जस्तो हुँदैन। उनका सबै उपन्यास बेस्टसेलर बनेका छन्। सबैलाई उनको किताबझैं बिक्री भइदिए हुन्थ्यो भन्ने चाहना त छ तर बिक्रीको पाटो अलि क्लिष्ट छ।

बिक्रीको चाहना लेखक मात्र होइन, प्रकाशकदेखि खुद्रा बिक्रेतासम्मलाई हुन्छ। किनभने एउटा किताब चल्दा लेखक, प्रकाशक, डिजाइनरदेखि प्रेससम्म चलायमान बन्छन्। अरू त अरू खुद्रा बिक्रेताका दुःखसमेत यसले भुलाइदिन्छ। नेपालमा हरेक वर्ष कम्तीमा १० हजार शीर्षकका पुस्तक छापिने गरेको अनुमान छ।

नेपालमा छापिने ती किताबको नम्बर वितरण गर्ने काम त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयस्थित आइएसबिएन विभागले गर्छ। सो विभागका अधिकृत रोशन पोखरेलका अनुसार पछिल्लो समय पुस्तक दर्ता गर्ने चलन बढ्न थालेपछि नेपालमा प्रकाशनको मोटामोटी आकार देखिन थालेको बताउँछन्।

हाल दर्ता हुने पुस्तकहरूको संख्या वार्षिक ६ हजार हाराहारीमा रहेको उनी बताउँछन्। दर्ता नगरी पनि पुस्तक प्रकाशन भइरहेका कारण हरेक वर्ष कम्तीमा १० हजार शीर्षकका पुस्तक प्रकाशन हुने उनको अनुमान छ। पोखरेल भन्छन्, ‘यो संख्या हेर्दा पछिल्लो समय पुस्तक प्रकाशनमा राम्रै उत्साह देखिन्छ।’

आइएसबिएनमा सूचीकृत हुनेको संख्या वार्षिक रूपमा बढ्दै गइरहे पनि तिनको व्यापार आँकडाबारे भने कसैसँग पनि यकिन तथ्यांक छैन। यसबारे न सरकारी न त गैरसरकारी क्षेत्र कसैले सर्वेक्षण गरेका छन्। एकातिर पुस्तक दर्ता उत्साहप्रद देखिन्छ। अर्कातर्फ केही प्रकाशकचाहिँ अबका केही वर्षमा बजार नसुध्रने हो भने चर्चित प्रकाशन गृहहरूसमेत बन्द हुने अवस्थामा पुग्ने केहीको दाबी छ।

अहिले नेपालमा किताबको बजार वार्षिक दुई अर्ब रूपैयाँ हाराहारीमा रहेको कतिपयको आकलन छ। यो व्यापारमा विद्यालयका पाठ्यपुस्तक, सन्दर्भ सामग्री, कोरियाली, जापानी भाषा प्रशिक्षण पुस्तकदेखि लोकसेवा, शिक्षकसेवा आयोगका पुस्तकसमेत पर्ने गरेका छन्।

प्रकाशन गृहहरू पारदर्शी नभएका कारण पनि बजार अनुमानको भरमा चलिरहेको छ। बिक्री कहाँ कसरी भइरहेको छ भन्ने जानकारी लिनेदिने आधिकारिक ठाउँ नभएका कारण नेपालका प्रतिष्ठित सञ्चार गृहहरूले सुरु गरेको ‘बेस्टसेलर’ सूची निकाल्न सकिरहेका छैनन्। किताबको बिक्रीको एउटा मोटामोटी अनुमान भने गर्न सकिन्छ।

न्युरोडका पुस्तक बिक्रेता राजेश गजुरेलले खुद्रामा पुस्तक बिक्री गर्न थालेको डेढ दशक बढी भइसकेको छ। आफूले सडकमा बेच्दा पनि पुस्तक राम्रै बिक्री गर्ने गरेको र अहिले आकर्षक पसल खोल्दा पनि घाटामा नरहेको बताउँछन्। काठमाडौंभित्र पुस्तकको व्यापार सन्तोषजनक रहे पनि बाहिरको अवस्था भने दयनीय रहेको बिएन पुस्तकका सूर्य बिसी बताउँछन्।

हालै साहित्यको बजार कत्रो छ भनी उनी मेची महाकाली यात्रामा थिए। यो यात्राबाट आफू निराश भएर फर्किएको उनी बताउँछन्। उनले गएको मंसिर र पुसमा इलामदेखि कञ्चनपुरसम्मको यात्रा गरेका थिए। त्यहाँ उनले पुस्तक बजारको पारम्परिक मान्यता भत्किएको देखे।

उनी भन्छन्, ‘अब किताब पढ्न पुस्तक पसल जानुपर्ने अवस्था रहेन। पढ्ने नयाँ पुस्ताले अनलाइन मगाउने गरेको देखियो। नपढ्नेहरूको सिधा रुचि कसरी विदेश जान सकिन्छ भन्ने किताब पढ्न व्यस्त भएको पाइयो।’

फाइनप्रिन्टका अजित बराल धेरै छनोट भएका कारण पहिलेजस्तो जे निस्किए पनि पाठक घट्दै गएको बताउँछन्। ‘केही समयअघि भारतको पेइन्गुइनले बुद्धिसागरको कर्नाली ब्लुजको अंग्रेजी अनुवाद पाँच हजार प्रति बिक्री गर्‍यो। अंग्रेजी अनुवाद नेपालभित्रै यति धेरै प्रति बिक्री हुँदा उनीहरू ज्यादै उत्साही देखिए,’ उनी भन्छन्।

उता बुढाथोकी भने परम्परागत पुस्तक पसल धेरै बन्द भएको र भएकाहरू पनि आफू बाँच्न छेउमा केही न केही व्यापार चलाइरहेको यात्राका क्रममा देखेको बताउँछन्। उनी भन्छन्, ‘नयाँ किताब पसलेले राख्नै मान्न छाडिसके। त्यसैले नयाँ पुस्तक निकाल्दा पनि सचेत हुनुपर्ने बेला भयो। पछिल्लो समय पुस्तकालय निर्माण र सञ्चालनका लागि सरकारले दिँदै आएको सहयोग नभएको भए धेरै प्रकाशन गृहहरू बन्द भइसक्थे।’

उता गजुरेल भने नेपाली पुस्तकको मूल्य अचाक्ली बढेकामा क्रुद्ध देखिए। ‘मेरा पाठक प्रायः विद्यार्थी छन्,’ उनी भन्छन्, ‘उनीहरूसँग पैसा कम हुन्छ। सात सयदेखि ११ सयसम्म मूल्य पर्ने पुस्तक किन्नुभन्दा त विद्यार्थीले त्यति नै रकम थपेर ग्यास र चामलजस्ता आवश्यक चिज किन्छ नि, होइन?’ 

उनी न्युरोडबाट दैनिक ८० देखि ९० वटा पुस्तक बिक्री गर्छन्। दुई हजारदेखि २५ सयसम्म शीर्षकका किताब बेचिरहेको दाबी उनको छ। पहिला सडकमा दैनिक चार सय वटासम्म पुस्तक बिक्री गर्ने गरेकामा अहिले कम भए पनि आफूलाई दुःख मनाउ नभएको उनी बताउँछन्।

उपत्यकाबाहिर भने नयाँ पुस्ताले नेपाली पुस्तक नपढ्ने, नेपाली भाषामा पढ्न चाहने पुस्ता हरेक दिन वैदेशिक रोजगारीका लाइनमा भेटिने हुनाले नेपाली साहित्यको पाठक लगभग सकिएको बिसी बताउँछन्।

किताब पढ्ने ठुलो संख्यामा युवा पाठकहरू विदेश लागेको खुद्रा बिक्रेता मानबहादुर तामाङ स्विकार्छन् तर बिक्री घटेको भन्ने तर्कलाई पत्याउँदैनन्। उनी अहिले अनलाइनमार्फत राम्रै पुस्तक बिक्री गरिरहेको बताउँछन्। युवापुस्ताले पढ्न चाहेजस्तो पुस्तक बजारमा नभएकाले पाठक नदेखिएको उनको बुझाइ छ। पुस्तकहरू धेरै छन्, छनोट पनि धेरै भए। पहिले जुनसुकै विषयका किताब पढ्नेहरू अहिले छानेर मात्र पढ्ने गरेको उनको अनुभवले देखाएको छ।

बुढाथोकीको नजरमा त नयाँ पाठक निर्माण नगरे अब नेपाली भाषामा किताब पढ्ने पाठक पाउन गाह्रो हुने बताउँछन्। त्यसका लागि अब बाल पाठक निर्माण गर्न विद्यालयहरूमा पठन संस्कृति निर्माण गर्नुपर्ने आवश्यकता उनी देख्छन्। यसका लागि देशले राष्ट्रिय पुस्तक नीति बनाउनुपर्ने लेखकदेखि प्रकाशकसम्मको माग छ। यही बनाउन नेपाल सरकारले पटकपटक पुस्तक नीति बनाउने भनी विभिन्न सभा आयोजन गर्‍यो। यसका लागि नै राज्यकोषबाट लाखौं खर्च भइसकेको छ तर बन्न सकेको छैन। २०६५ देखि लगातार पुस्तक नीति बनाउन छलफल, गोष्ठी, प्रतिवेदनमा लगानी गरिए पनि त्यो आउन सकेको छैन।

यो नीतिका लागि बनेका विभिन्न मस्यौदाले नेपालमा पुस्तक नीति चाहिएको स्वीकार गर्छन् तर यो प्रस्तावित नीतिलाई व्यवहारमा उतार्न र उपलब्धिपूर्ण बनाउन कसैको ध्यान गएको देखिन्न।

लाग्छ, कसैलाई यही नीतिमार्फत जागिर खानु छ, कसैलाई नियन्त्रण गर्नु छ, कसैलाई अनुदान र ऋण चाहिएको छ, कसैलाई कर छुट चाहिएको छ। के उसो भए नीति नभई पुस्तक र यससम्बन्धी कुनै काम अघि बढ्न सक्तैन र? हिमाल किताबका सञ्चालक वसन्त थापा भन्छन्, ‘हाम्रो देशले पुस्तक नीति बनाउनु भनेको भविष्यमा हामी कहाँ पुग्छौं भनी लक्ष्य तयार गर्नु हो। यसले हामीलाई गोरेटो बनाउन सघाउँछ।’

 थापाको भनाइअनुसार यो उद्योग प्रभावशाली र नाफामूलक पनि भएका कारण धेरै देशले बिक्री बढाउन आफ्नो देशमा पुस्तक नीति बनाउने गरेका छन्। संसारका विभिन्न मुलुकले पुस्तक नीति बनाएर भविष्यमा कहाँसम्म पुग्ने भन्ने लक्ष्य राख्ने गरेका छन्।

‘किताब व्यापार हो तर व्यापार मात्र होइन,’ थापा भन्छन्, ‘यो देशको सफ्ट पावरको पुँजी पनि हो। त्यसलाई व्यापक अर्थमा कसरी उपयोग गर्ने भन्ने आँखा खोल्ने, बाटो देखाउने काम पुस्तक नीतिले गर्नुपर्छ।’

पुस्तक नीतिले प्रकाशक, लेखक, सम्पादक, अनुवादकहरूलाई आर्थिक र संस्थागत सहयोग दिने भएकाले यसले प्रकाशन, वितरण र पाठकको पहुँच वृद्धि गर्न भूमिका खेल्न सक्छ। ज्ञानको प्रसार, साक्षरता वृद्धि र सांस्कृतिक प्रभाव विस्तारमा पनि योगदान दिने हुनाले अधिकांशले पुस्तक नीति बनाउँछन्।

पुस्तकले पार्ने प्रभाव कस्तो हुन्छ भन्ने कुरा सोभियतकालीन पुस्तकहरूको पहुँचका कारण नेपालमा बढेको कम्युनिस्ट प्रभावबाट बुझ्न सकिन्छ। अहिले चीनले नेसनल पब्लिसिङ डेभलपमेन्ट प्लानजस्ता नीतिहरू बनाएको छ। प्रकाशन उद्योगलाई देशभित्र मात्र नभएर बाहिर विस्तार गर्न विभिन्न किसिमको सरकारी सहयोग दिने गरेको छ।

नेपालमा पछिल्लो समय ठुलो संख्यामा चीन चिनाउने पुस्तकहरू देखा पर्नुको कारण यही हो। पुस्तक नीति नबनाउने एक मात्र विकसित मुलुकमा अमेरिका पर्छ। ठुला व्यावसायिक प्रकाशकले नै त्यहाँ सरकारलाई नीति बनाउनबाट रोक्छन्। बजारलाई नै यसको नियन्त्रण गर्ने अधिकार दिइनुपर्ने सिद्धान्तका कारण सरकारी तवरबाट यसबारे कुनै नीति बनाइएको छैन। तर त्यहाँ सरकारले पठन संस्कृति बढाउन कलिलै उमेरबाट विभिन्न गतिविधि सञ्चालन गर्ने गर्छ।

बेलायतले भने पब्लिसिङ इन्डस्ट्री टास्क फोर्स बनाएको छ। प्रकाशन गृहहरूलाई नीतिगत सहयोग गर्न यो सधैं तत्पर रहने गर्छ। सबैभन्दा रोचक चाहिँ जर्मनीमा बुक प्राइस फिक्सिङ ल छ। यो कानुनले नयाँ पुस्तक प्रकाशन गर्दा कुनै पनि पसलेले भारी छुट दिन पाउँदैन। यसो गर्दा पुस्तक पसलेहरूले राहत पाउने विश्वास छ।

विकसित मुलुकले खास कानुन र नीतिमार्फत आफ्नो देशमा पठन संस्कृति बढाउने गरेका छन्। अस्ट्रेलिया, ग्रिसजस्ता देशले त पठन संस्कृति भाँडियो भन्दै १६ वर्षभन्दा मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक नै लगाउने गरी काम थालेका छन्।यी सारा गतिविधिबिच भारतले पनि बल्ल पुस्तक नीति बनाउनेतर्फ ध्यान दिन थालेको छ। २०२३ जनवरीमा व्यापक सर्भेपछि भारत सरकारले पुस्तक नीति बनाउन एउटा प्रारूप बनाएको थियो। नेपाल कहाँ छ?

नेपालमा पुस्तक प्रकाशन हुन थालेको दुई सय वर्ष पूरा भयो । पुस्तक प्रकाशनको महत्त्व के हो भन्ने जंगबहादुरले बेलायत र फ्रान्स भ्रमणका बेला बुझेका थिए। त्यसपछि नेपालबाट बेलायत पुग्ने राणाहरूले ज्ञानको महत्त्व बुझ्दै नेपालमा पनि प्रकाशन उद्योगलाई खुला गर्नुपर्ने आशयका साथ १९६० कात्तिक ३० मा किताब तर्जुमा अड्डा स्थापना गरेको विज्ञहरू बताउँछन्।

त्यसअघि नै १८६९ भदौ १५ मा पुस्तक चिताई तहबिल नामक पुस्तकालय बनाएर पृथ्वीनारायण शाहका दिव्योपदेशलगायतका अन्य ग्रन्थहरूलाई संरक्षण गर्न गिर्वाणयुद्ध विक्रमले लालमोहर जारी गरेका थिए।

पछि १९७० सालमा गोरखा भाषा प्रकाशिनी समिति स्थापना गरियो। १९९० सालमा सोही संस्थाको नाम परिवर्तन गरी नेपाली भाषा प्रकाशिनी समिति बनाइयो। कालान्तरमा यही समिति नै साझा प्रकाशन बन्न पुग्यो।

२०३२ सालमा पुस्तकको विकासलाई प्रोत्साहित गर्न र सरकारी तथा गैरसरकारी तवरबाट पुस्तक प्रकाशनलाई समन्वय गर्न नेपाल राष्ट्रिय पुस्तक विकास समिति आदेश जारी भयो। त्यसयता चार पटक पुस्तक नीति बनाउने प्रयासहरू भए पनि सफल हुन सकेको छैन।

पछिल्लो पटक २०८१ असोजमा व्यापक छलफलपछि चर्चामा ल्याइएको पुस्तक नीति पनि हतारमा ल्याइएको भन्दै विरोध गरिएको थियो। रोचक त यसलाई रोक्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता समेत भएको छ। अख्तियारमा सम्पर्क गर्दा प्रवक्ता नरहरि घिमिरेले आफूलाई त्यसबारे केही थाहा नभएको बताए।

मदन पुरस्कार पुस्तकालयका कार्यकारी दीपक अर्याल नेपाली प्रकाशन उद्योगले दुई सय वर्षमा जम्माजम्मी एक लाख शीर्षकका पुस्तक मात्र प्रकाशन गरेको देखिएकाले प्रकाशनको बाढी आउनुपर्ने धारणा राख्छन्। लेखन तथा प्रकाशनको बाढी आउनुपर्ने ठाउँमा सरकारले बनाउन लागेको पुस्तक नीति भने नियन्त्रणमुखी बनाउनेतर्फ उद्यत रहेको उनको बुझाइ छ।

पुस्तक नीति २०८१ को मस्यौदा र त्यसअघि २०७३ मा ल्याइएको मस्यौदा दुवैमा एउटा परिषद् बनाउने र परिषद्ले सबै कुराको व्यवस्थापन गर्ने अमूर्त कुराहरू राखिएको छ। जबकि दुवै मस्यौदामा नेपालमा पुस्तक प्रकाशनको अवस्थाको कुनै सर्भे छैन। कसले किताब लेख्न पाउने, कसले नपाउनेजस्ता नियन्त्रणमुखी नीतिले पुस्तकको संसारलाई फाइदाभन्दा बढी बेफाइदा पुर्‍याउने उनी देख्छन्। दुःखको कुरा त नीति बनाउनुअघि नेपालमा कति पुस्तक छापिन्छन्, ती पुस्तक कस्ता पाठकले पढिरहेका छन्, छापिएका अधिकांश पुस्तकहरूको अवस्था के छ, कुनै सर्वेक्षण छैन।

‘नेपालको साक्षरता दर ७७ प्रतिशत पुगे पनि पुस्तकप्रतिको झुकाव कस्तो छ मस्यौदाले कुनै दिशा दिँदैन,’ हिमाल किताबका थापा भन्छन्, ‘जबसम्म नेपालीहरूको पठनको अवस्था थाहा हुँदैन, तिनलाई कसरी पठनमा रुचि बढाउने भन्ने थाहा पाउन सकिँदैन।’

जबकि भारतले गएको वर्ष जारी गरेको पुस्तक नीतिको मस्यौदामा भारतमा पठन संस्कृति बढाउन र नीति तयार पार्न चाहिने पृष्ठभूमिमा देशव्यापी सर्भे गरेको थियो। सो सर्भेमा उमेर समूहअनुसार तिनको पठन झुकाव, देशको कुन भागमा बढी पुस्तक पढिन्छन्, कुन भागमा कम पढिन्छन्, हिन्दी, अंग्रेजी, बंगाली, गुजरातीसँगै दक्षिण भारतका राज्यमा कस्ता भाषामा कति प्रतिशतले किताब पढिरहेका छन् भन्ने विस्तृत अध्ययन विश्लेषण गरिएको थियो।

पुस्तक नीतिका दुवै मस्यौदामा त्यस्ता कुनै विश्लेषण पढ्न पाइँदैन। ‘यस्तो लाग्छ, नेपाल सरकारका कर्मचारीहरूलाई एउटा परिषद् बनाउन हतार थियो,’ थापा भन्छन्, ‘त्यो बनाएर जागिर खाने हतार भएजस्तो छ।’

२०८० को तथ्यांकअनुसार देशभरि ३५ हजार आठ सय ७६ विद्यालय ७२ लाख र उच्च अध्ययन गर्ने करिब आठ लाख विद्यार्थी छन्। त्यस्तै नौ सय २८ पुस्तकालय छन्। देशभरिका विद्यालय, कलेज तथा विश्वविद्यालयमा रहेका पुस्तकालय, तिनमा नियमित सहभागी हुने पाठकको सर्वेक्षण नगरी देशको पठन अवस्था कस्तो छ भन्ने बुझ्न गाह्रो छ। यस्तो अभेद्य विषयमा बनाइएको नीतिले जतिसुकै राम्रो लेखिएको भए पनि त्यसले गम्भीर काम गर्न नसक्ने बुझाइ सिकाइ समूहका सुदर्शन घिमिरेको छ।

पछिल्लो समय घिमिरेले पठन संस्कृतिको विकासका लागि देशभरिका विभिन्न विद्यालयहरूसँग सहकार्य गरिरहेका छन्। निजी स्तरमा भएका पठन संस्कृतिको विकासलाई यस्ता नीतिले सघाउनुपर्ने घिमिरे बताउँछन्।

एक दशकदेखि पठन संस्कृतिमा काम गरिरहेका घिमिरे भने साँच्चिकै देशले पुस्तकका क्षेत्रमा काम गर्न चाहेको हो भने हरेक विद्यालयले उसका बालबालिकाले होमवर्कमा भन्दा पुस्तक पढेनपढेकोमा जाँच गर्नुपर्ने बताउँछन्। उनको भनाइ छ, ‘बालबालिकालाई वास्तविक किताबको स्वाद चखाउने काम गर्नुपर्छ। त्यसका लागि गुणस्तरीय पुस्तक लेखिनुपर्छ। लेख्न ठुलो समय, श्रम र लगानी चाहिन्छ। त्यो कसैसँग पनि छैन। अनि किन पाठकले किन्छन् ?’

यसको उपाय पनि उनी देख्छन्, ‘देशले अबका केही वर्ष देशको बजेटको केही न्यून प्रतिशत कन्टेन्ट लेखकमाथि लगानी गर्नुपर्छ। मानौं, वार्षिक दुई अर्ब हाराहारीमा देशले लगानी गर्‍यो भने लेख्नेले मिहिनेत गर्छन्। जब लेख्ने कुरामा मिहिनेत हुन्छ, छाप्नेले पनि उत्तिकै मिहिनेत गर्छन्। मिहिनेत गरिएको कुरा भएपछि पाठकले पनि पढ्छन्।’ तर प्रयास इमानदार हुनुपर्ने उनको सर्त छ। इमानदार प्रयास नभए त्यो कृषि अनुदानजस्तो बन्न पुग्ने र वास्तविक कृषकको साटो अरूले नै फाइदा उठाउने जुन परिपाटी छ, त्यो लेखनमा पनि देखिने उनको भनाइ छ।

अझ गुणस्तरीय प्रेसको उदाहरणका रूपमा भारतको थमसन प्रेसलाई देखाए। ठुलो लगानी गरिएको उक्त प्रेसको गुणस्तर यति छ कि भारतमा छापिएका पुस्तक संसारभर पुग्ने गरेका छन्।

नेपालले लोक्ता र नेपाली कागजलाई व्यापक स्तरमा उत्पादन गर्न सके, त्यसमा किताब छाप्न सके, त्यो विश्वस्तरको गुणस्तरको पुस्तक बन्न सक्ने उनी देख्छन्। यसैगरी नेपाली पुस्तक प्रवद्र्धन गर्न करको दायरा कम गर्नुपर्ने अर्याल ध्यानाकर्षण गराउँछन्। आयात र निर्यातलाई व्यवस्थित गर्ने, प्राविधिक सिप, पुस्तक मेला, प्रदर्शनजस्ता कुरालाई प्रोत्साहित गर्नेतर्फ यस्ता नीतिले बढीभन्दा बढी ध्यान दिनुपर्ने उनको बुझाइ छ।

त्यसो त नीतिमा यी सबै उल्लेख छन्। यस्तो गरिनेछ, उस्तो गरिनेछ भनेर लेखिएको भए पनि तिनमा प्रायः प्रकाशन उद्योगमा संलग्नहरूले त्यो हुने कुरामा ठ्याक्कै विश्वास गरिरहेका छैनन्। नागरिकले रिपोर्टिङका क्रममा भेटेकाहरूमध्ये अधिकांशको अवस्थाचाहिँ, यो नीतिले आफूलाई के फाइदा हुन्छ भन्नेमा मात्र ध्यानदिएको पाइयो।

पुस्तक बिक्रीको अवस्था नराम्रो छैन

 मानबहादुर तामाङ

पाँच वर्षदेखि अनलाइनमार्फत पुस्तक बिक्री गर्दै आएका मानबहादुर तामाङ अहिले मासिक दुई हजारजति पुस्तक बेच्छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश।

नेपालका प्रकाशकहरू किताब बिक्री हुन छाड्यो, पाठक छैनन्, विदेश गए भन्छन् नि?

नेपाली जहाँ गए पनि नेपालीमै किताब पढ्न रुचाउँछन्। जसलाई अंग्रेजीमा सहज हुन्छ, उसले पनि नेपालमा उत्पादित अंग्रेजी नै पढ्न रुचाउला। मेरो अनुभवमा पाठक घटेका छैनन्, झनै बढेका छन्।

प्रकाशकहरूले घटे भन्नुको अर्थ?

पहिला पाठकहरू पुस्तक पसलसम्म पुग्थे, अहिले अनलाइनले उनीहरूलाई किनमेलमा सहज बनाइदिएको छ। पाठक अनलाइनमा बढी छन्। अहिले ७० प्रतिशत पाठकले अनलाइनबाटै किन्न थालेका छन्। पाठक छैनन् भनिरहेकाहरूले पुस्तक पसलको मात्र कुरा गरेका हुन्।

उसो भए नेपाली पुस्तकको पाठक घटेका हुन्?

होइन, पाठक बिल्कुलै घटेका छैनन्। तर जसरी अंग्रेजी किताबका पाठक ह्वात्तै बढे, त्यसको तुलनामा नेपाली भाषाका किताबको बिक्री बढेन। नेपाली भाषामा पुस्तक प्रकाशन गरिरहेकाहरू आत्तिनुको कारण नै यही हो।

अनि प्रकाशकहरू त टाउकोमा हात राखेर बसिरहेका छन् नि?

पाठक किन बढेनन् भन्ने खोजी हुनुपथ्र्यो। आफू चाहेको पुस्तक ननिस्केर पनि पाठक बजारमा नदेखिएका हुन्। पाठकले जुन पायो त्यही पढ्दैनन् नि ! अहिले औसतमा दैनिक १५ पुस्तक छापिइरहेका छन्। लेखकले पाठकका लागि भन्दा पनि आफ्ना लागि लेखिरहेका छन् । त्यही भएर कम बिक्री भइरहेको हो।

पुस्तक नीति बनाउने सरकारको तयारी तपाईंलाई कस्तो लाग्छ?

यसले व्यापक रूपमा पुस्तकको व्यापारलाई छुनुपर्छ। जति बढी व्यापार हुन्छ, त्यसले प्रकाशकदेखि बिक्रेतादेखि लेखकसम्मलाई छुनुपर्छ। त्यो गर्न सकियो भने नेपाली पुस्तकको बिक्री पनि अंग्रेजीमा जस्तो ह्वात्तै बढ्न सक्छ।

बिक्रेताका रूपमा तपाईंले के–कस्तो झमेला बेहोरिरहनुभएको छ त?

अहिले मूल समस्याचाहिँ अंग्रेजी किताबको छ। धेरैले नक्कली किताब ल्याएर बेचिरहेका छन्। त्यो नक्कलीका कारण सक्कली किताब ल्याएर बेच्नेहरूलाई समस्या परिरहेको छ। एउटै किताबको दुई वटा मूल्य किन भन्ने जवाफ पाठकले पाउन सकिरहेका छैनन्। भारतबाट आएका नक्कली र सक्कली पुस्तक छुट्याउन गाह्रो भइरहेको छ। यस्ता समस्यालाई पुस्तक नीतिले समेट्यो भने राम्रो हुन्छ।

नेपाली किताब बजारको नराम्रो पक्ष के देख्नुहुन्छ?

लेखक आफैंले प्रकाशकलाई पैसा दिएर छाप्नु खराब पक्ष हो। यसले प्रकाशकको गरिमा घटाएको छ। पहिला प्रकाशकले लेखकमाथि लगानी गर्थे, अहिले लेखकले किताबमाथि दोहोरो लगानी गरिरहेको छ। नगरे उसको किताब बजारमा जाने सम्भावना हुँदैन।  

प्रकाशित: २६ माघ २०८१ ०६:४४ शनिबार

# Nagarik # The book trade # Isbn