कर्पोरेट

‘एनसेल वुमन आइकन आइसिटी अवार्ड' बन्दना शर्मालाई

‘एनसेल वुमन आइकन आइसीटी अवार्ड २०२४’ बन्दना शर्माले पाएकी छन् । आइसीटी अवार्ड २०२४ को ग्राण्ड फिनाले कार्यक्रममा उनले यो अवार्ड पाएकी हुन् ।  

सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर योगदान पुर्‍याएवापत् शर्मालाई यो वर्षको अवार्ड प्रदान गरिएको एनसेल फाउन्डेसनले जनाएको छ ।  

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले संयुक्त रूपमा उक्त अवार्ड प्रदान गरे ।

नेपाल बैंकको कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुखको रूपमा कार्यरत शर्माले यो अवार्डसँगै ३ लाख रुपैयाँ नगद पुरस्कारसमेत पाएकी छिन् ।

नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्दै यो क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्‍याएका महिलालाई यो अवार्ड प्रदान गरिन्छ ।

सूचना प्रविधि क्षेत्रमा सक्रिय महिलाहरुलाई सम्मान तथा प्रोत्साहन गर्नका लागि विगत पाँच वर्षदेखि आइसिटी अवार्ड र एनसेलबीच सहकार्य हुँदै आएको छ ।

यो वर्षको एनसेल वुमन आइकन आइसिटी अवार्ड विजेता शर्मा सूचना प्रविधि क्षेत्रमा १८ वर्षदेखि निरन्तर क्रियाशील महिला हुन् ।

यसअघि २०२३ मा सुनैना घिमिरे पाण्डे, २०२२ शीला कंसाकार कार्की, २०२१ मा गुणकेशरी प्रधान र २०२० मा तिमिला यमी ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’बाट सम्मानित भएकी थिइन् ।

यो अवार्डबाहेक एनसेल फाउन्डेसनले सूचना प्रविधिको पाटोमा विशेष गरी शिक्षा, डिजिटल डिभाइड कम गर्न र साइबर सुरक्षा, डिजिटल साक्षरता जगाउन विभिन्न कार्यहरु गरेको छ ।

यो वर्षको एनसेल वुमन आइकन आइसिटी अवार्ड विजेता शर्मा २००६ मा आइटी सपोर्ट अफिसरको रूपमा नेपाल बैंकमा प्रवेश गरेकी थिईन् ।

नेपाल बैंकलाई डिजिटलाइज गर्ने काममा सुरूवातदेखि नै आवद्ध उनले कोर बैंकिङ सिस्टम, नेटवर्क सुरक्षा, साइबर सुरक्षा लगायत बैंकको डिजिटल पूर्वाधार विकास तथा सेवाहरूलाई ग्राहकमैत्री बनाउन निकै महत्त्वपूर्ण भूमिका खेलेकी छिन् ।

पोखरा विश्वविद्यालयबाट बीसीए अध्ययन गरेकी शर्माले मास्टर्समा सूचना प्रविधि, नेटवर्क एण्ड ई बिजनेस र एमबीए पनि अध्ययन गरेकी छन् ।

शर्मा क्यान महासंघ, वुमन इन आईटी, युनिप्रोफेसनल म्यानेजमेन्ट कमिटिमा पनि आवद्ध भएर आफ्नो अनुभव बाँडिरहेकी छन् । साथै वित्तीय समावेशीता र स्टेम एजुकेसनमा उनको योगदान रहेको छ ।

प्रकाशित: १० पुस २०८१ १७:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App