बजार

पुसको दोस्रो सातासम्म पनि बगैंचामै जुनार, बाढीले वीपी राजमार्ग बगाएपछि कम व्यापार

सिन्धुलीको तिनकन्याको जुनार बगैंचा । तस्विर अनिल भण्डारी/नागरिक

जुनारको पकेट क्षेत्र मानिने सिन्धुलीमा यसवर्ष व्यापार कम भएको छ । मुल्य राम्रो पाएपनि जुनार बगैचाका बोटमा अझै लटरम्मै जुनार बाँकी छन् । पुसको दोस्रो साता बितेपनि सिन्धुलीका किसानले ६० प्रतिशत पनि जुनार र सुन्तला विक्री गर्न सकेका छैनन् । खर्चको जोहो गर्न असोजको अन्तिम साताबाटै किसानहरुले बजारमा जुनार ल्याएको भएपनि कम परिणामा विक्रि वितरण हुँदा पुसको दोस्रो सातासम्मै जुनार बोटभरी लटरम्मै बाँकी भएको हो । 

गोलञ्जोर गाउँपालिका ४ तिनकन्याका गोपाल तामाङको बगैचामा लटरम्मै जुनार सुन्तला बाँकी छ । उनले हालसम्म उत्पादनको आधा पनि जुनार र सुन्तला बेचेका छैनन् । बोटमा हेर्नुहुन्छ भने जुनार सुन्तला एकदमै राम्रो छ, उनले भने, तर यसवर्ष जति व्यापार हुनुपर्ने हो भएको छैन । जुनार विक्री गर्न किसानको मुख्य बजार विपी राजमार्गका फलफूल पसल हुन् । 

वीपी राजमार्गको सिन्धुलीको खनियाखर्कमा रहेका फलफूल पसलहरु । तस्विर अनिल भण्डारी/नागरिक

गत असोजको बाढीले विपी राजमार्गको नेपालथोक देखि भकुण्डेसम्म बगाएपछि विपी राजमार्गमा विगतका वर्षमा जस्तो सवारी चाप छैन । त्यसको प्रत्यक्ष असर जुनार किसानसम्मै पुगेको हो । राजमार्गमा गुड्ने साना सवारीका यात्रुले कोसेली स्वरुप जुनार किन्ने गर्थे अनि ती व्यापारीले हाम्रो बगैचाबाटै लैजान्थे यसवर्ष व्यापारीको पनि व्यापार कम भएको छ त्यसैले अहिलेसम्म पचास प्रतिशत पनि जुनार व्यापार भएको छैन उनले थपे ।

विपी राजमार्गथित सिन्धुलीको भिमानदेखि नेपालथोकसम्म झन्डै तीन सय बढी स्टलमा जुनार बिक्रीका लागि राखिएको छ । तर राजमार्गमा साना सवारी निकै कम गुड्ने गरेको छ । राजमार्गमा सवारीको चाप नहुँदा किसानको जुनार बिक्री कम भएको हो ।

गोलञ्जोर गाउँपालिका वडा नम्बर ४ को तिनकन्या जुनार उत्पादनको मुख्य क्षेत्र हो । जहाँका किसानले जुनारबाटै लाखौ आम्दानी गर्दै आएका छन् । जुनारको सिजन अन्तिम हुनै लाग्दा समेत तिनकन्याको जुनार बगैंचा लटरम्मै जुनार देखिन्छन् ।

हालसम्म पचास प्रतिशत जुनार व्यापार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यन्वयन इकाई सिन्धुलीका प्रमुख यामकुमार श्रेष्ठको भनाई छ । विगतको वर्षमा जस्तो व्यापार नभएको हुनसक्छ, बगैचामा जुनारका दाना राम्रो छ, उनले भने, विपी राजमार्ग नै जुनार बिक्रीको मुख्य केन्द्र भएकाले यसवर्ष केहि कम व्यापार भएको हुनसक्छ, उनले भने ।

वीपी राजमार्गको सिन्धुलीको खनियाखर्कमा रहेका फलफूल पसलहरु । तस्विर अनिल भण्डारी/नागरिक

किसानले बोटबाटै पचासदेखि ७० रुपैयाँ किलोसम्ममा जुनार बिक्री गरेका छन् । राम्रा दानालाई किसानको बोटबाटै व्यापारीले राम्रो पैसा दिने गरेको उनीहरुको भनाई छ । तिनकन्याकै पञ्चमाया तामाङ जुनारका लागि आफुहरुले बजार खोज्दै जानु नपर्ने बताउछिन् । यसवर्ष सवारी कम गुडेकाले कम व्यापार भएको हो, तर हामी जुनारका लागि बजार खोज्दै जाँदैनौ, व्यापारीलेनै बोटबाटै उठाउँछन्, उनले भनिन्, विगतका वर्षमा पुसको दोस्रो सातासम्म ८० प्रतिशत बढी व्यापार हुन्थ्यो यसवर्ष माघको अन्तिमसम्म पनि जुनार बोटमा पाइने सम्भावना हुन्छ। पञ्चमायाले आफ्नो बगैचाको सुन्तला करिब बेचिसकेकी छिन् भने जुनार बाँकी रहेको उनले जानकारी दिइन् ।

सिन्धुलीकै पहिचान बनेको जुनारबाट यसवर्ष ५२ करोड आम्दानी हुने अनुमान गरिएको छ । जुनारको मुख्य बजारका रुपमा रहेको सिन्धुलीको खनियाखर्क बजार, सिन्धुली सदरमुकामको फलफुल बजार विपी राजमार्गस्थित सेल्फिडाँर्डा, खुर्कोट लगायतका स्थानमा  बिक्रीका लागि राखिएका जुनार प्रसस्तै देखिन्छन् । तर कम ग्राहक भएकाले बिक्री कम भएको छ । ग्रामिण सडकको पहुँचले बगैंचासम्मै सवारीका साधन पुग्न थालेपछि जुनारबाट पछिल्ला वर्षहमा किसानले राम्रो आम्दानी लिँदै आएका छन् ।

वीपी राजमार्गको सिन्धुलीको खनियाखर्कमा रहेका फलफूल पसलहरु । तस्विर अनिल भण्डारी/नागरिक

जिल्लाको गोलञ्जोर गाउँपालिका, कमलामाई नगरपालिका, सुनकोसी गाउँपालिका र तीनपाटन गाउँपालिकाका केहही वडामा जुनारको व्यवसायिक उत्पादन हुँदै आएको छ । महाभारत क्षेत्र अन्तर्गत सामुन्द्रिक सतहबाट ८ सय मिटर माथी र १५ सय मिटर मुनीको जमिनमा जुनार खेती गर्न उपयुक्त स्थान मानिन्छ ।

प्रकाशित: १५ पुस २०८१ १९:३३ सोमबार

#बगैंचामै जुनार