बारामा एक सुधार केन्द्रमा रहेका एक जना व्यक्तिको कुटपिटबाट मृत्यु भएको घटना सार्वजनिक भएको छ। कलैया उपमहानगरपालिका–३ कलैया बजारमा सञ्चालनमा रहेको नवजन्म पुनर्स्थापना केन्द्रमा रहेका कलैया–९ का ३७ वर्षीय प्रदीपप्रसाद मण्डलको मृत्यु भएको हो।
मण्डल १५ दिनअघि मात्रै नवजन्म पुनर्स्थापना केन्द्रमा भर्ना भएको बताइएको छ। अत्यधिक लागु औषधको सेवनको दुर्व्यसनमा फसेका उनलाई सुधार्न साहेबबाबु अन्सारीले सञ्चालन गरेको उक्त सुधार केन्द्रमा भर्ना गरेको परिवारका सदस्यले बताएका छन्।
उनको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक(एसपी) सन्तोष तामाङले जानकारी दिए।
बिहीबार राति २ बजेतिर मण्डललाई पुनर्स्थापना केन्द्रभित्र निर्घात कुटपिट गरेको देखिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धानका लागि प्रहरीले सिसिटिभी फुटेज लिइसकेको छ। यस्तै कुटपिटमा संलग्न रहेका भनिएका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ।
पक्राउ पर्नेमा नजिर सर्राफ, मोहम्मद आसिम मियाँ, सागर गुप्ता, परमेश्वर साह, अरुण सर्राफ, तामाना अलि र सर्फराज मन्सुर छन्।
मण्डलमाथि कुटपिट हुनुको कारण भने हालसम्म पत्ता नलागेको एसपी तामाङले बताए।
यता दुर्व्यसनमा फसेका मण्डललाई सुधारको अपेक्षा गर्दा ज्यान गुमाउनुपरेको भन्दै उनका दाइ श्यामसुन्दर मण्डलले दुखेसो गरे।
‘भाइलाई कुलतबाट जोगाउन सुधार केन्द्रमा भर्ती गरेका हौँ,’ उनले भने,‘यहाँ त उल्टै ज्यान लिए।’ उसो त पछिल्ला केही दिनअघि भेट्न जाँदा भाइले आफूलाई कुट्ने गरेको बताएको श्यामसुन्दरले बताए। ‘उति बेला उसको विश्वास नगरेर ठुलो गल्ती भएछ,’ उनले भने। आफ्ना भाइलाई कुटेर मार्नेमाथि कडा कारबाही हुनुपर्ने उनले माग गरे।
यता मण्डलको मृत्युभएपछि उनका आफन्तले कलैया बजारमा शव राखेर प्रदर्शन समेत गरेका छन्।
प्रकाशित: २ फाल्गुन २०८१ १९:४३ शुक्रबार