राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने प्रहरी हिरासतमा रहेका बेलाको तस्बिर खिच्ने डा. निकोलस भुसाल विरुद्ध मुद्दा दर्ता भएको छ । कास्की जिल्ला अदालतमा शुक्रवार भुसालविरुद्ध विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मा मुद्दा दर्ता भएको हो।
प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय शुक्रवार निकोलसमाथि अभियोजन गरेको छ । अभियोजन पत्रमा निकोलसले गरेको कसुरअनुसार विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन,२०६३ को दफा ४७ को उपदफा (१) ले निषेध गरेको असुर पुष्टि भएको भनिएको छ ।
यहीअनुसार उनीमाथि सजायको माग दाबी गरिएको छ । जसमा ‘कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।
सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रविको हिरासत तस्बिर भाइरल भएपछि रास्वपाका नेता कार्यकर्ता प्रहरीमाथि खनिएका थिए। त्यसपछि निकोलसले त्यो तस्बिर आफूले खिचेको बयान दिएका थिए ।
लगत्तै उनी पुस ७ गते पहिलो पटक पक्राउ परेका थिए । त्यसपछि अदालतले उनलाई बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।
यसैबिच थुनछेक बहसका लागि बिहीबार पक्राउ परेका छन् ।
प्रकाशित: ४ माघ २०८१ १६:५८ शुक्रबार